बेलबारी जेसिजले असक्त मगर दम्पत्तीलाई बनाइदियो पक्की घर


जिर्ण अवस्थाको छाप्रामा जिवन गुजारा गर्दै आउनुभएको बेलबारी १ का आफन्तविहिन तथा असक्त वृद्धावृद्धा दम्पत्ती टेकहादुर र चन्द्रमाया मगरलाई बेलबारी जेसिजले नयाँ पक्की घर निर्माण गरिदिएको छ । २० दिन अघिबाट घर निर्माण सुरु गरेको बेलबारी जेसिजले सोमबार घरको चाबी मगर दम्पत्तीलाई हस्तान्तरण गरेको हो । ७६ वर्ष भन्दा माथी उमेरका टेकबहादुर र चन्द्रमाया राम्रोसँग हिडडुल समेत गर्न नसक्ने अवस्थामा हुनुहुन्छ । यसअघि टिनले बारेको जिर्ण अवस्थाको छाप्रोमा उहाँहरुले जिवन गुजारा गर्दै आउनुभएको थियो । बेलबारी १ स्थित नक्सल सामुदायिक वनको क्षेत्रमा बनेको नयाँ घर मै बेलबारी जेसिजले सोमबार आयोजना गरेको घर हस्तान्तरण कार्यक्रममा प्रदेश १ का प्रदेशसभा सांसद लोकप्रसाद संग्रौलाले मगर दम्पत्तीलाई चावी हस्तान्तरण गर्नुभएको हो । सोही कार्यक्रममा विभिन्न क्षेत्रबाट मगर दम्पत्तीलाई फरक फरक सहयोग र सुहलियत समेत घोषणा भएको छ ।
बेलबारी जेसिजले वर्ष २०२० मा विपन्न तथा घरविहिनलाई घर बनाइदिने योजना समेत रहेको अवस्थामा मगर दम्पत्तीको बसाई र जिवन गुजाराको दयनिय अवस्थाबारे थाहा भएपछि घर निर्माण गरिदिएको बेलबारी जेसिज वर्ष २०२० का अध्यक्ष राजेश खत्रीले जानकारी दिनुभएको छ । जेसिजले निर्माण गरिदिएको सो घर इँटाको गाह्रो र टिनको छाना भएको,ठुलो १ कोठा,बरण्डा र भान्सा कोठा सहितको रहेको छ । घरसँगै शौचालय पनि निर्माण भैरहेको छ । घामपानी र हावाले समेत असर गर्न नसक्ने मजबुत घर निर्माण भएसँगै मगर दम्पत्तीको दैनिकी अब निकै सहज हुने भएको छ । दुवैजनाले घर पाएसँगै खुसी व्यक्त गर्नुभएको छ ।
सोही स्थानका वासिन्दा एवम् बेलबारी जेसिजका निवर्तमान अध्यक्ष दिपेन्द्र खुलालले मगर दम्पत्ती विगत १० वर्षदेखि सामान्य छाप्रामा आफ्नो जिवन गुजारा गर्दै आउनुभएको जानकारी दिनुभएको छ । खुलालका अनुसार हेरविचार गर्ने आफन्त,परिवार सन्तान कोही पनि नभएकाले उहाँहरुको बाँकी जिवनका लागि पनि सहयोगी हातहरुको अझ धेरै आवश्यकता रहेको छ ।
घर निर्माण समितिका संयोजक एवम् बेलबारी जेसिजका संस्थापक अध्यक्ष माधवराज थापाले घर निर्माणमा अहिलेसम्म ४ लाख ९८ हजार ८ सय रुपैयाँ खर्च भएको जानकारी दिनुभएको छ । नगद तथा निर्माण सामग्री समेत गरी ४ लाख १६ हजार रुपैयाँ भन्दा बढिको सहयोग संकलन भएको छ । घरका लागि बेलबारी नगरपालिकाले ४२ हजार ३ सय रुपैयाँ, बेलबारीकै ड्रिमल्याण्ड फन प्रालीले ८२ हजार २ सय ५० रुपैयाँ बराबरको निर्माण सामग्री सहयोग गरेको थापाले जानकारी दिनुभयो । नक्सल सामुदायिक वन समुहबाट ४३ हजार रुपैया बराबरको काठ प्राप्त भएको छ । घर निर्माणका लागि अन्य व्यक्ति तथा संस्थाबाट पनि रकम तथा निर्माण सामग्री प्राप्त भएको छ । सहयोग आउने क्रम र रंगरोगन लगायत अन्य केही निर्माण कार्यसमेत जारी रहेको छ । सम्पुर्ण काम सम्पन्न भएपछि संकलित रकम एवम् खर्च विवरण विस्तृतमा सार्वजनिक गरिने थापाले जानकारी दिनुभएको छ ।


घर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद लोकप्रसाद संग्रौलाले असक्त अवस्थामा रहनुभएका जेष्ठ नागरिकका लागि मजबुत घर निर्माण गरिदिएर मानवताको उच्चस्तरको नमुना प्रदर्शन गरेको भन्दै बेलबारी जेसिजको प्रसंसा गर्नुभएको छ । आउँदा दिनमा पनि बेलबारी जेसिजको काममा कुनै न कुनै रुपमा आफुले समेत सहयोग गर्ने संग्रौलाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाहले मगर दम्पतीका लागि जाडोका लागि ओढ्ने ओच्छ्याउने सामग्री नगरपालिकाले तत्काल व्यवस्था गरिदिने घोषणा गर्नुभएको थियो । बेलबारी वडानम्बर १ वडाध्यक्ष चक्र खुलालले दुवैजनाको निशुल्क रुपमा स्वास्थ्य विमा गरिदिने घोषणा सहित विमा गरदिएको विमा कार्ड पनि हस्तान्तरण गर्नुभएको थियो । बेलबारी खानेपानी संस्थाका अध्यक्ष समेत रहनुभएका नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदीले हस्तान्तरित घर सम्म खानेपानी जडान गरिदिने र पानी निशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । बेलबारीकै केही युवाहरुले मगर दम्पत्तीलाई केही न्यानो कपडा तथा खाद्यान्न लगायतका सामग्री कार्यक्रम स्थलमै प्रदान गरेका थिए ।
नेकपा बेलबारीका अध्यक्ष पर्सुराम सुवेदी,नेकपा जिल्ला सदस्य प्रताप थापा,वडाध्यक्ष चक्रबहादुर खुलाल लगायतले पनि बोल्नुभएको कार्यक्रम बेलबारी जेसिजका महासचिव भुवन कार्कीले सञ्चालन गनुृभएको थियो ।