सहुलियतपुर्ण कर्जाका लागि बेलबारी नगरपालिका र बाणिज्य बैकबिच सम्झौता


बेलबारी नगरपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि आइतवार राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले बिना धितो २ प्रतिश ब्याजदरमा ५ लाख रुपैयाँ सम्म सहुलियतपुर्ण कर्जा दिने गरी कार्यक्रम अगाडि बढाएको छ ।
नगरपालिकाले यस अघिनै सहुलियतपुर्ण कर्जाका लागि कार्यविधि बनाई सकेको छ । उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समुहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त उद्यमीहरुको ५–५ जनाको समूह बनाई समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जा दिनका लागि बैंकलाई नगरपालिकाले सिफारीस गर्ने छ । नगरपालिकाको सिफारीस पछि बैकहरुले सहुलियतपुर्ण कर्जा दिने छन ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बेलबारी नगरापलिकाको कामको प्रशंसा गरेका छन । उनले अन्य स्थानियतहहरुले समेत बेलबारी बाट केहि सिक्नु पर्ने बताए ।
नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले यस्ता कर्जाले नगरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षकै आधारभूत रुपमा विकास गर्न सघाउ पुग्ने धारणा व्यक्त गरे।