नेविसंघ बेलबारीले सरकारलाई खबरदारी गर्दै सिट्ठी फुक्यो


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सरकार विरुद्ध देशव्यापी रुपमा गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन आव्हानसहित कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार बेलबारीमा वृहत सिट्ठी र्याली गरेको छ । नेविसंघ बेलबारी नगर समितिको आयोजना भएको र्यालीमा विद्यार्थीहरुले सरकार भ्रष्टाचारमा डुवेको र सर्वसत्तावाद तर्फ उन्मुख भएको भन्दै सरकार विरुद्ध नारावाजी सहित सिट्ठी फुकेका थिए । बेलबारी स्थित पश्चिम बसस्टेण्डबाट सुरु भएको सिट्ठी र्याली पुरानो बेलबारी स्थित दुर्गामन्दिर पुगेर फर्किई पश्चिम बसस्टेण्डमै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेविंघ क्षेत्रिय सभापति होमनाथ पोख्रेलले सरकार जनताको हितमा काम गर्ने भन्दा पनि भ्रष्टाचार गर्नतिर लागेको, जनताको अधिकार खोस्ने र लोकतन्त्र मास्नेतर्फ लागेको आरोप लगाउनुभयो । सरकारको सर्वसत्तावाद विरुद्ध काग्रेसले मंसिर २९ गते आयोजना गर्न लागेको विरोध प्रदर्शनमा उत्रन र सरकारलाई खबरदारी गर्न सिट्ठी जुलुस गरिएको नेविसंघ बेलबारी नगर समितिका सभापति सन्तोस भट्टराईले बताउनुभयो । कार्यक्रममा कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी,नगेन्द्र कट्टेल,महाधिवेसन प्रतिनिधि रुक्मिणि धिमाल,नेका क्षेत्रिय सचिव केदारमणी पौडेल,क्षेत्रिय सदस्यहरु केदार अधिकारी, रेखबहादुर तामाङ,नगर सभापति सम्भु भटराई,तरुणदल क्षेत्रिय सभापति छत्र लिम्बु लगायतको पनि सहभागिता रहेको थियो ।