वन्यजन्तुमा आधारित पर्यापर्यटनका सम्भावनाबारे बेलबारीमा छलफल


सामुदायिक वनहरुमा वन्यजन्तुमा आधारित पर्यापर्यटनको सम्भावना र विकासबारे कार्यशाला गोष्ठी बेलबारीमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश १ को अयोजनामा र बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा बेतना सिमसारको सभाहलमा शुक्रबार कार्यशाला आयोजना भएको हो ।
कार्यक्रममा सामुदायिक वनमा वन्यजन्तुमा आधारित पर्यापर्यटन विकासका लागि सम्भावना, त्यसको व्यवस्थापन र कानुनी तथा नितिगत व्यवस्थाहरुबारे छलफल भएको थियो । महासंघ १ नम्बर प्रदेशका अध्यक्ष तुल्सी संग्रौलाले सो विषयमा जानकारीमुलक प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा पर्यापर्यटन सम्बन्धी नितिगत कानुनी प्रावधान के के छन् ? वन्यजन्तुमा आधारित पर्यापर्यटनका सम्भावना र यसबारे मुलुकभर भएका अभ्यासहरु, उत्पन्न हुने समस्या तथा चुनौतीहरु र त्यसलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको संग्रौलाले जानकारी दिनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रिय उपाध्यक्ष पार्वता गौतमको प्रमुख आतिथ्यमा भएको कार्यशालामा मोरङ जिल्लाका विभिन्न सामुदायिक वनका पदाधीकारी सदस्य तथा महासंघका पदाधीकारी एवम् सदस्यहरुको सहभागिता रहेको थियो । महासंघ प्रदेश १ समितिका सचिव अग्नि पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रम बेतना सिमसार सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष डम्बर बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।