मोरङमा अपहरण पछि शिक्षकको गोली हानी हत्या

मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका एकमा स्थानीय विद्यालयको प्रधानाध्यापकको अपहरणपछि हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका १ बर्खे स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्या भएको हो ।

मङ्गलवार बिहान ७ बजे घरमा रहेका श्रेष्ठलाई ४ जनाको समूहले अपहरण गरेको थियो । स्थानीय स्रोतका अनुसार बर्खेको गाउँमुनिको जङ्गलमा लगेर अज्ञात समूहले हत्या भएको हो ।

श्रेष्ठको शव मिक्लाजुङ १ बर्खेको जंगलमा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दुरीमा छ । मृतकको टाउकोमा गोली प्रहार भएको भेटिएको प्रहरीले जनाएको छ ।

बिहान सवा ६ बजेतिर ४/५ जनाको संख्यामा आएको विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाट उठाएको सूचना आएको एसपी खड्काले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । ५२ वर्षीय श्रेष्ठ सरस्वती आधारभूत विद्यालयमा कार्यरत थिए । कुनै पनि समूहले अहिले सम्म सो घटनाको जिम्बेबारी लिएका छैनन् ।