विराटनगर । विराटनगरबाट ९ कलेज रोडबाट सञ्चालित उत्पादित विराट गोल्छा घ्युमा ‘बेकरी सटेनिङ्ग’ (वनस्पतिजन्य चिल्लो पदार्थ) मिसावट गरेर उपभोक्तालाई बिक्री गर्ने गरेको भेटिएको छ ।
उद्योगले उत्पादन गरेको विराट गोल्छा घ्युको नमूना संकलन गरेर परीक्षण गर्दा मिसावट पाइएपछि आइतबार नियामक निकायले २०० केजि घ्यु नष्ट गरेको हो ।
जिल्ला स्थित संयुक्त बजार अनुगमन समितिले गत असोज ३० गते नै उद्योगको अनुगमन गरेर नमूना संकलनपछि शिलबन्द गरेको थियो । बजार मूल्य भन्दा सस्तो मूल्यमा उपलब्ध घ्युमा मिसावट रहेको पाइएको हो ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालका अनुसार
प्रयोगशाला परीक्षणका क्रममा घ्युमा मिसावट रहेको पाइएको हो । रिजालका अनुसार उद्योगी रमेश गोल्छा विरुद्ध मुद्दा दायरको प्रक्रियासँगै उत्पादित घ्यु नष्ट गरिएको छ ।
उद्योगी गोल्छा विरुद्ध गुणस्तरहिन घ्यु उत्पादन गरेर बिक्री वितरण गरेको अभियोगमा मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रक्रिया बढाइएको रिजालले बताए । सुद्ध घ्युउत्पादन गरेर बजारमा बिक्री गर्ने गरि सम्बन्धित कार्यालय अनुमति लिइएको र खाद्य प्रविधिसँग समेत अनुज्ञापत्र लिँदा सुद्ध घ्यु उत्पादनकै लिइएको छ । तर, उद्योगले पुजाको घ्यु भन्दै प्याकेजिङ गरेर बजारमा पठाउँदै आएको पाइएको छ ।
गोल्छा विरुद्द उपभोक्ता ठगि गरेको अभियोगमा खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार पत्र तयार गरेर जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिसकिएको छ । प्रमुख रिजालका अनुसार मुद्दा प्रक्रिया अगाडी बढाईएसँगै उद्योगमा लगाइएको शिलबन्दी खोलेर भण्डारमा रहेको सबै घ्यु जफत गरि नष्ट गरिएको हो ।
उद्योगी गोल्छाले उपभोक्ताले आफ्नो उद्योगको उत्पादन खानका लागि नभई पुजाका लागि मात्रै प्रयोग गर्ने गरि स्पष्ट सूचनासहित बजारमा पठाउने गरिएको दावी गरेका छन ।
संयुक्त अनुगमन समितिले ५०० ग्रामको ४६ बट्टा, ४०० ग्रामको ३८ बट्टा, २०० ग्रामको ११ बट्टा र १ केजीको प्याक समेतको घ्यू जफत गरेर नष्ट गरेको छ ।