विराटनगरमा एम्बुलेन्स दुर्घटनामा बिरामीको मृत्यु, तीन घाइते

विराटनगर । विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोसी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा एम्बुलेन्स ठोक्किएर सोमबार बिहान १ बजेतिर दुर्घटना भएको छ ।

दुर्घटनामा परेर उपचारका लागि सप्तरीबाट विराटनगर ल्याँदै गरेका बिरामीको मृत्यु भएको छ । एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएका छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको ।

बिग्रिएको भनेर राजमार्गको सडकमा लहरी रोकेर राखेको खुलेको छ । एसपी खड्काका अनुसार दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी –२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो । एम्बुलेन्स लहरीमा ठोक्किएपछि भएको दुर्घटनामा परेर गम्भीर घाइते हुन पुगेका उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार एम्बुलेन्स चालक हरिनारायण यादव फरार रहेका कारण खोजी तीव्र पारिएको छ ।

प्रहरीले लहरीका चालक पनि फरार भएका कारण खोजी थालिएको जनाएको छ । दुर्घटनामा परेर एम्बुलेन्समा पूर्ण रुपमा क्षति पुगेको एसपी खड्काले बताए । उनले घटनाका बारेमा अनुसन्धान थालिसकिएको उल्लेख गरे ।