कोभिड- १९ लाग्यो ? खानपान कसरी व्यवस्थापन गर्ने ?

सुन्दरहरैचा । हाल महामारीको रुपमा फैलिएको कोभिड-१९ ले विश्वभर आतंक सिर्जना गरिरहेको छ । कोभिडले विश्वभरका नागरिकको जीवन अस्तव्यस्त बनाईरहेको बेला नेपालमा पनि यस कोभिड-१९ को भाइरसले आक्रन्त बनाईरहेको छ ।

हाल सम्म कोभिड उपचारको लागि कुनै औषधि तथा भ्याक्सिनहरुको निर्माण भईसकेको छैन । तर भ्याक्सिनको निर्माण गर्न विभिन्न देशहरु लागिरहेका छन । कोभिडबाट बच्ने हाल सम्म उपयुक्त विधि भौतिक तथा सामाजिक दुरी कायम गर्दै माक्स तथा सेनिटाइजर प्रयोग गर्नु नै हो । तर पनि कोभिड लागि हालेमा हामीले आफ्नो दैनिक जीवन शैलीमा परिवर्तन गर्नुपर्दछ । जसमा एउटा मानिसको खानपान पनि पर्दछ ।

विगत ८ वर्ष देखि नेपाल प्रहरीमा रहेर प्रहरी अस्पताल तथा न्युट्रेसन एण्ड डाइट सर्भिस नेपालमा कार्यरत पोषण विशेषज्ञ तथा खाध प्राविधिक टंक भट्टराईले तयार पारेको कोभिडका बिरामीहरुका लागि दैनिकि खानपानको तालिका:

कार्बोहाइड्रेड

हाम्रो समाजमा चामल प्रमुख अन्नको रुपमा लिइने गरिन्छ । चामलमा करिब ८०% को हाराहारीमा कार्बोहाइड्रेड, ६.५% प्रोटिन र ०.५% चिल्लो पदार्थ हुन्छ । खनिज र भिटामिनको मात्रा बजारमा पाइने प्रशोधित चामलमा अत्यन्त न्यून हुने गर्दछ । तसर्थ प्रशोधित चामल (पोलिस राइस) को सट्टा हामीले अन्य अन्नहरु जस्तै आटा,मकैको पिठो, फापर र कोदोको परिकार आदि लाई कार्बोहाइड्रेडको प्रमुख स्रोतको रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।

प्रोटिन

प्रोटिनमा हामीले विशेष गरि जनावरबाट प्राप्त प्रोटिनहरु लाई नै विशेष जोड दिनुपर्ने हुन्छ । जस्तै दूध, अण्डा, माछा,मासु आदिलाई प्रयोगमा ल्याउनु पर्दछ । कोभिडका बिरामीहरुका लागि सकेसम्म मासु बनाउदा उसिनेर पातलो झोल बनाई दिएमा प्रोटिन र खनिजको मात्रा पुग्दछ । प्रोटिन एउटा आफैमा इम्युनिटी बुस्टर हो जसले गर्दा उनिहरुमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । अन्य वनस्पतिबाट प्राप्त प्रोटिन जस्तै चना,केराउ,राज्मा,बोडि,सिमिलाई मिश्रण गरि केही दिन (कम्तिमा २ दिनमा पानीमा भिजाउने) राखी टुसा पलाएको अवस्थामा प्रयोग गर्दा सजिलै पच्ने , भिटामिन र एन्टिअक्सिडेन्टको मात्रा बढ्ने गर्दछ ।

चिल्लो पदार्थ

हामीले चिल्लो पदार्थ प्रयोग गर्दा सकेसम्म वनस्पतिबाट प्राप्त चिल्लो पदार्थहरु नै प्रयोग गर्नुपर्ने हुन्छ । जस्तै तोरी,भटमास,सुर्यमुखी,ओलिभ तेलहरु विशेष रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । बासी तेल र जनावरबाट प्राप्त चिल्लो पदार्थहरु जस्तै घ्यु, बोसो, चिज आदिहरुको प्रयोग सकेसम्म कम मात्रामा प्रयोगमा ल्याउनुपर्दछ ।

खनिज पदार्थ, भिटामिन, फाइटोकेमिकल्स र फाइबर

खनिज पदार्थ, भिटामिन, फाइटोकेमिकल्स र फाइबरको प्रयोगले बिरामीलाई रोग सग लड्ने क्षमतामा अभिवृद्धि गर्दछ । कोभिड उपचारार्थ बिरामीहरुलाई विशेष गरि चाहिने भनेको भिटामिन ‘सि’ , भिटामिन ‘बि’ कम्प्लेक्स हुन । साथै खनिज पदार्थहरुमा जिंक, पोटासियम, सोडियम, फोसफोरस, क्याल्सियम र म्याग्नेजियम आदि हुन ।

फाइटोकेमिकल्स(एन्टिअक्सिडेन्ट) र फाइबर पाउने स्रोत भनेकै हरियो तरकारी, फलफुल, जडिबुटी र कालो चिया हो ।

प्रोबायोटिक्स

प्रोबायोटिक्स भन्नाले हाम्रो शरिरलाई फलदायक हुने सुष्म किटाणु हो । जुन हाम्रो भित्री आन्द्रामा हुने गर्दछ । यसले घातक जिवाणु (ब्याक्टेरिया) हरुको प्रवेशलाई रोक्ने काम गर्दछ । साथै प्रवेश गरेका जिवाणु (ब्याक्येरिया)हरुको सक्रियतालाई नष्ट गर्दै पाचन प्रणालीलाई सक्रिय बनाउने काम गर्दछ । तसर्थ कोभिड भएका बिरामीहरुले प्रोबायोटिक्सको प्रयोग गर्नको लागि दूधबाट बनेका परिकार जस्तै दहि, महि लगायत गुन्द्रुक सिन्की आदिको प्रयोग गर्नुपर्छ । तर यी चिजहरुले मानिसहरुको शरिरलाई चिसो बनाउने हुदा डाक्टर तथा डाइटिसियनको सल्लाह अनुसार प्रोबायोटिक्स क्याप्सुलहरु लिन सकिन्छ ।

अन्य खानेकुराहरुमा बेसार, तातोपानी, ज्वानो, तुलसी, बोजो, जेठिमधु आदिको प्रयोग मात्रा मिलाई सेवन गर्न सकिन्छ ।

कोभिड बिरामीले दैनिकी खानपान यसरी व्यवस्थापन गर्नुहुस:-

बिहान ७ बजे : कम्प्लेक्स, ओठ वा जौ को सातु, दूध र अण्डा उसिनेको ।
बिहान ८:३० बजे: १५० ग्राम सम्मको स्याउ ।
बिहान १०:३० बजे : खाना (१ प्लेट) वा रोटी (५ पिस), उसिनेको मासु (५ पिस), दाल (१ कचौरा), हरियो साग (१ प्लेट सानो), सलाद (कागती र गाजर)
दिउँसो १ बजे: खाजामा डाइजेस्टिक बिस्कुट वा कम्प्लेक्स वा सातु , १ ग्लास दूध र उसिनेको अण्डा
दिउँसो ३ बजे: फलफुल १५० ग्राम (स्याउ, मेवा, नास्पाती, सुन्तला, जुनार, किवी मध्ये कुनै एक), काजु , बदाम र ओखर २५ ग्राम
साझ ६:३० बजे: खाना (१ प्लेट) वा रोटी (५ पिस), उसिनेको मासुको सुप, दाल (१ कचौरा), हरियो साग (१ प्लेट सानो), सलाद (कागती र गाजर)
राती सुत्ने बेलामा: १ ग्लास मनतातो पानीमा बेसार, ज्वानो र तुलसीको पात राखी उमालेर खाने

नोट: दैनिक कम्तिमा साढे २ लिटर पानी पिउनु पर्ने हुन्छ । साथै बाफ दनिक बिहान बेलुका २ पटक लिनुपर्दछ । शरिरको तापक्रम नाप्ने थर्ममिटर, अक्सिजन नाप्ने अक्सिमिटर, प्रेसर नाप्ने मिटर, सेनिटाइजर, माक्स, ग्लोबस, जिवनजल, कफसिरफ आदि आफू साथै राख्नुपर्दछ ।