मृत चितल सहित बुढाथोकी पक्राउ, छुटाउन जनप्रतिनिधिको दबाब

पथरी । मोरङको पथरीमा लामो समय देखी ओम साई अटो टेर्डस नामक व्यावसाय गर्दै आएका व्यावसायी शम्भु बुढाथोकी पक्राउ परेका छन् । बुढाथोकीले मंगलवार कानेपोखरी-७ स्थित लोकमार्गबाट वन्य जन्तु चित्तलाई आफ्नो गाडीमा राखेर पथरी तर्फ हुइकिदै गर्दा कानेपोखरी र पथरीशनिश्चरेको सिमाना स्थित मोरङगी खोलाको पुलमा पक्राउ परेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीका अनुसार-“मंगलवार अन्दाजी दिनको १२ः४० बजेको समयमा प्राप्त सुचनाका आधारमा निज बुढाथोकीले चलाएको प्रदेश १-०२००२ च ३७०० नं. को कालो महेन्द्रा (जिप) गाडीमा राखेर ल्याउदै गरेको खबर प्राप्त भएपछि उनी सहित गाडीलाई नियन्त्रणमा लिइएको होे ।” उनलाई आवश्यक कानुनी कार्वाहीका लागि कानेपोखरी सव-डिभिजन वन कार्यालय कानेपोखरीलाई जिम्मा लगाएको गिरीले बताए ।

पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ भने बुढाथोकीलाई आवश्यक पुर्पक्षका लागि सब डिभिजन बन कार्यालय बेलवारीमा राखिएको बताईएको छ । ३ वर्ष उमेर अनुमान गरिएको चित्तलको तौल करिब ४० केजी जति भएको सब डिभिजन वन कार्यालय कानेपोखरीका अधिकृत तुलसीलाल यादवले बताए । मृत चित्तलको बुधवार पोष्टर्माटम गरेपछि थप कुराहरु बाहीर आउने यादवले बताए ।

बुधवार आवश्यक कागजात पुरा गरी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाइने र बुढाथोकीलाई वन्यजन्तु चोरी सिकारी अन्तर्गत मुद्धा चल्ने यादवको भनाइ छ । तर बुढाथोकी पक्राउ परे लगतै उनलाई छुटाउन र नियन्त्रणमा नलिन स्थानिय स्तर देखी प्रदेश स्तर सम्मका जनप्रतिनिधि र पार्टीका नेताहरुको फोन आउन थालेको यालवले बताए । कानुनी प्रकृया अनुसार कार्वाहीका लागि आफ्नो तर्फबाट कुनैपनि कसुर बाँकी नराख्ने यादवले बताए ।

बुढाथोकीको बारेमा यस प्रकारका अन्य कुराहरु सुन्नमा आएको र त्यसको पनि अनुसन्धान गरिने यादवले बताए ।