नेकपामा प्रचण्ड ब्रान्ड: प्रधानमन्त्रीका दुतको ओइरो

काठमाडौं । नेकपामा पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्ड राजनितिक क्षेत्रको ब्रान्ड जस्तै बनेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष रहेका दाहाल प्रचण्डलाई भेट्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान खुमलटार पुगेका छन् ।

पछिल्लो समय नेकपा भित्रको विवाद दुई अध्यक्ष बिचका अन्तरविवादका कारण हुने गरेको छ । विवाद पश्चात् नेकपा अध्यक्षद्धयको सम्वाद टुटेपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु खुमलटार पुगिरहेका छन् ।

ज्ञवाली पछिल्लो तीन दिनमा खुमलटार पुग्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट तेस्रो नेता हुन् । यसअघि बुधबार संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र बिहीबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए ।

नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग सम्वाद गर्न आग्रह गर्दै आएका छन् । प्रचण्डले भने आफू बालुवाटार नजाने जवाफ दिँदै आएका छन् ।

शुक्रबार खुमलटार पुगेका नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले प्रचण्डसँगको भेटवार्तामा ज्ञवालीले दुई अध्यक्षको सम्वादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

कात्तिक ४ मा नेकपाका अध्यक्षद्वय ओली–प्रचण्डबीच कर्णाली विवाद समाधानबारे लामै कुरा भएको थियो । तर आफूसँग भएको सहमति विपरीत ओलीले निर्णय लिएको भन्दै प्रचण्डले भेटवार्ताको निम्तो अस्वीकार गर्दै आएका छन् ।

विशेष गरी मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीमा अविश्वास प्रस्ताव आएपछि प्रचण्ड ओलीसँग सम्वादमा बस्न मानिरहेका छैनन्