प्रदेश सरकारको हेलचक्राईले कोभिडका बिरामी घरमा नै छट्पटाउन बाध्य: प्रतिपक्षी दल

विराटनगर । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ दिनभित्र १ हजार शैयाको भेन्टिलेटरयुक्त कोभिड अस्पताल निर्माण गर्न माग गरेको छ । विराटनगरमा नेपाल प्रेस युनियन मोरङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिपक्षी दलले १ हजार शैयाको कोभिड अस्पताल १५ दिन भित्र निर्माण गर्न माग गरेको हो ।

प्रतिपक्ष दलका संसदीय दलका नेता राजीव कोइरालाले लकडाउनका अवधिमा प्रदेश सरकारले कोभिड अस्पताल निर्माणको अवसर चुकाएको बताए । कोइरालाले स्थानिय तह देखि जिल्ला, प्रदेश र केन्द्रसम्म रहेको विपद् व्यवस्थापन समितिलाई सक्रृय नपारेर अनेक खालका समिति बनाएर सरकार अलमलिइरहेको उहाँको भनाई छ ।

प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी विराटनगरमा एक महिनाभित्र एक हजार शैयाको कोभिड अस्पतालको निर्माण गर्ने घोषणा गरे पनि अझैसम्म अस्पताल नबनेको बताए । कार्कीले कोभिडका विरामी घरमै छटपटाएर पिडादायी रुपमा मर्न बाध्य भइरहेपनि प्रदेश सरकारले मानविय संवेदना र करुणा नदेखाएको आरोप लगाए । उनले १५ दिन भित्र सरकारले घोषणा गरे अनुसारको १ हजार शैयाको अस्पताल निर्माण गर्न माग गरेका छन ।

कार्कीले दिनानुदिन अनपेक्षित रूपमा संक्रमितको संख्या बढिरहे पनि कार्यक्रम र समारोह होस् वा गुद्री, हाटबजार कतै पनि स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना नभएको बताए । कार्कीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालका ८ भेन्टिलेटरमध्ये ५ वटा बिग्रिएको र कोशी कोभिड अस्पतालका ५ मध्ये २ वटा बिग्रेको बताए । सरकारको हेलचक्राइकै कारण कोभिड–१९ का बिरामीले सामान्य न्यूनतम उपचारसमेत नपाउने अवस्था प्रदेशमा उत्पन्न भएको कार्कीले बताए । प्रदेश सरकारलाई साधन, स्रोत र बजेटको अभाव नभई कार्यशैली, कार्यक्षमता र योग्यताको अभावले चौतर्फि समस्या निम्तिएको कार्कीले बताएका छन ।