नेकपाका नेता गुरु बराल माथी आत्महत्या दुरुत्साहनको आरोप

उर्लाबारी । मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष तथा सतारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङका नेता गुरु बरालमाथि आत्महत्या दुरुत्साहनको आरोप लागेको छ ।

बरालमाथि प्रतिष्ठानका लेखा तथा प्रशासन प्रमुख मुक्तिनाथ दाहालको आत्महत्यामा बराल र प्रमुख कार्यकारी अधिकृत विनोद अर्यालको कारण रहेको भन्दै छानबिनको माग गरिएको छ ।

अर्यालले खाली चेकमा हस्ताक्षर गर्न लगाएर आत्महत्या गर्न बाध्य बनाएको प्रतिष्ठानको सदस्य विद्या चाम्लिङको आरोप छ । ‘प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई गर्ने व्यवहार राम्रो थिएन, हामीले प्रश्न उठाउँदा अध्यक्षले (गुरु बराल) सधैँ संरक्षण गर्नु भयो’ उनले भनिन्, ‘केही दिनअघि अर्यालले खाली चेकमा हस्ताक्षर गर्न लगाएर टर्चर दिएका थिए ।’

अर्यालले खाली चेकमा हस्ताक्षर गर्न लगाएपछि आफू तनावमा परेको दाहालले सुनाएको उनले बताइन् । ‘मर्नु न बाँच्नु बनाए भन्दै दाहालले म सँग कुरा गर्नुभयो’ उनले भनिन् ‘हरेस नखानु हामी छौँ भन्दै सम्झाए, तर यस्तो घटना भयो ।’

अर्यालले दिएको मानसिक तनावका कारण दाहालले आत्महत्याको बाटो रोजेको दाबी आफन्तको छ ।

मङ्गलवार प्रतिष्ठानका अध्यक्ष बरालसहितका नेकपाका नेताहरू मङ्गलवार मुक्तिनाथको घर पुगेका थिए । तर अर्याललाई संरक्षण गरेको भन्दै आक्रोशित भिडलाई बरालमाथि हातपात गरेको छ । बराललाई प्रहरीले उद्धार गरेको थियो ।

यता प्रमुख कार्यकारी अधिकृत अर्याललाई भने मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो । तर किटानी जाहेरी नपरेपछि छाडेको छ । प्रहरीले भने घटनाको विषयमा आवश्यक अनुसन्धान गर्ने जनाएको छ ।

दाहालको शव सोमबार झापाको दमकस्थित बहु प्राविधिक शिक्षालयमा झुन्डिएको अवस्थामा भेटिएको थियो ।

अपराध न्युजबाट साभार




Leave a Reply

Your email address will not be published.