नेपाल प्रेस युनियन मोरङको अध्यक्षको कार्यभार भोजराज बस्नेतले सम्हाल्नुभएको छ । संगठनको गत अधिवेसनमा भएको सहमति अनुसार पुर्ण कार्यकालको पहिलो आधा अवधी अध्यक्षको नेतृत्व सम्हाल्नुभएका कुमार लुईटेलले बस्नेतलाई पद तथा कार्यभार हस्तान्तरण गर्नुभएको हो । बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन प्रा.लि.मा शनिबार आयोजित कार्यक्रममा लुइटेलले बस्नेतलाई पद हस्तान्तरण गर्नुभएको हो ।
पदभार ग्रहण गरेसँगै अध्यक्ष बस्नेतले संगठनको कामलाई कुशलतापुर्वक अघि बढाउँदै पत्रकारको हकहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जिम्मेवारी आएसँगै चुनौती समेत थपिएको बताउँदै बस्नेतले चुनौतीलाई सुझबुझ साथ सामाना गर्दै समाज र श्रमजिवी पत्रकारको हितमा काम गर्ने उद्घोष समेत गर्नुभएको छ । संगठनभित्र आवश्यक सुधारका काम गर्दै अघि बढ्ने र वेथिती तोड्न कडा कदम चाल्ने समेत अध्यक्ष बस्नेतले बताउनुभएको छ । पत्रकारिता क्षेत्रमा जिल्लाको नेतृत्व गर्ने अवसर विराटनगर बाहिरका व्यक्तिमा पनि जानुपर्दछ भन्ने कुराको नयाँ सुरुवात भएको पनि बस्नेतले बताउनुभएको छ । बस्नेत बेलबारी स्थित रेडियो बेतना र निरन्तर मिडिया गु्रपका अध्यक्ष समेत हुनुहुन्छ ।
कार्यक्रमका प्रमुख अतिथी सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख एवम् कांग्रेस मोरङका सहसचिव शिवप्रसाद ढकालले नयाँ जिम्मेवारी सम्हालेका अध्यक्ष बस्नेतलाई सबैसँग समन्वय गरेर अघि बढ्न शुभकामना दिनुभएको छ । सबैलाई एकतावद्ध गर्र्दै पत्रकारको हकहितमा लाग्न नयाँ उर्जाका साथ काम गर्ने अपेक्षा रहेको ढकालले बताउनुभएको छ । आफ्नो कार्यकाल सफलतापुर्वक पुरा गरेकोमा अर्का अध्यक्ष कुमार लुईटेललाई समेत ढकालले बधाई दिनुभएको थियो ।
कार्यक्रममा नेपाल प्रेस युनियन मोरङका प्रदेश संयोजक लिलाबल्लभ घिमिरे,युनियनका पुर्व केन्द्रिय सदस्य शंकर खरेल,कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी,उद्योगी भोलेश्वर दुलाल,कांग्रेस बेलबारीका सभापति शम्भु भट्टराई,युनियन मोरङका पुर्व अध्यक्ष मिनकुमार नवोदित,सुनसरी अध्यक्ष पवन अधिकारी,नेपाल पत्रकार महासंघ मोरङकी उपाध्यक्ष शुशिला पाठक लगायतले बस्नेतलाई सफल कार्यकालको लागि शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा युनियन मोरङका सचिव गोपाल पोखरेलले वर्तमान कार्यसमितिले अहिलेसम्म गरेका कामहरु समेटिएको प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको थियो ।