कसेनी हत्या काण्ड: १८ दिन पछि मुख्य नाइके पक्राउ

बेलबारी । मोरङको बेलबारी नगरपालिका ५ कसेनी स्थित लोहन्द्रा खोलामा भएको सामुहिक आक्रमण गर्ने मुख्य नाइके पक्राउ परेका छन । सामुहिक आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।घटनाका मुख्य योजनाकार भनिएका बेलबारी ५ का ३१ वर्षीय विनय सरदार पक्राउ परेका हुन् ।

घटना पछि फरार सरदारलाई जिल्ला प्रहरी कार्यालय मोरङ र प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (रिट)को संयुक्त टोलीले घटना भएको १८ दिनपछि सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनबाट सोमबारराति ८:३० बजेतिर नियन्त्रणमा लिएको हो । 

फरार सरदार घटनापछी भागेर सुनसरीको बराहक्षेत्र नगरपालिकामा साथीको घरमा लुकेर बसेका थिए । उनलाई साथीको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताका छन् । एसपी खड्काले सरदारलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिए । 

सरदारको नेतृत्वमा गत भदौ १२ गते भएको सामूहिक आक्रमणमा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु र उनकै परिवारका तीन जना घाइते भएको प्रहरीले जनाएको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा त्यहीदिन बूढीगंगाको विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । घटनामा ४३ वर्षीय सइकुमार, ३७ वर्षीय समुन्द्र र १६ वर्षीय गौरव राई घाइते भएका थिए । उनीहरु उपचारपछि घर फर्किसकेका छन् । 

मोबाइल कल डिटेलको आधारमा अनुसन्धान गर्दै सरदारलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।