मल अभावमा गफ मात्र हान्दै कृषि मन्त्री

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताएका हुन्।

गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित ‘नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकार’ विषयक अन्तरक्रियाममा मन्त्री भुसालले आउँदो चुनावअघि नै देशबाहिर रहेका नेपालीलाई मताधिकारको सुनिश्चितता गरिने बताए ।

उनले राजनीतिक अधिकारबाहेक सबै अधिकारसहितको नागरिकताको व्यवस्था संविधानले नै गरिसकेकाले अहिले प्राप्त यो उपलब्धीलाई आत्मसात गर्दै यसलाई संस्थागत गर्ने दिशामा अघि बढ्न गैरआवासीय नेपालीसमक्ष आग्रह गरे ।

राजनितिक अधिकार भन्नाले के के पर्ने भन्ने सन्दर्भमा स्पष्ट हुन नसकेका विषयमा नागरिकतासम्बन्धी ऐन कानून निर्माणको चरणमा थप छलफल गरेर जान सकिने उल्लेख गर्दै मन्त्री भुसालले अहिले सरकार वा दलहरुले केही अप्ठ्यारा व्यवस्था गर्न चाहन्छन् कि भनेर शङ्का नगर्न गैरआवासीय नेपालीलाई आग्रह गरे ।