आफनै साथीले मगरको घाँटी रेटेर हत्या गरे : प्रहरी

 झापाको शिवसताक्षी नगरपालिका ११ का २९ वर्षीय गोमन सिंह मगरको हत्या उनकै साथीले गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले शुक्रबार शिवसताक्षी नगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय मनकुमार लिम्बूलाई नियन्त्रणमा लिएर शनिबार सार्वजनिक गरेको छ ।

घाँटी काटिएको शव भदौ १७ गते बिहान शिवसताक्षी ११ स्थित जङ्गलमा फेला परेको थियो। १ नम्बर प्रदेश प्रहरी कार्यालयबाटको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापाको टोली, सङ्घीय प्रहरी कार्यालय धरानबाट डग शाखाको केनाईन टोलीले गरेको अनुसन्धानपछि लिम्बूलाई पक्राउ गरिएको हो ।

आरोपित लिम्बु

लिम्बूले लेनदेनको विषयमा विवाद हुँदा भदौ १६ गते राति मगरलाई राति बोलाएर आफैँले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । घरबाट साथीलाई भेट्न जान्छु भनी निस्किएका मगर परिवारको सम्पर्कमा नआएपछि उनको खोजी भएको थियो ।

लिम्बूले बोलाएर प्रदेश ०१–०१०१२ प ५२२५ नम्बरको मोटरसाइकलमा हावा खाई फ्रेस हुन भन्दै उनीहरु सताक्षीधाम मन्दिर गएको अनुसन्धानमा खुलेको छ। पछाडि बसेका लिम्बूले मोटरसाइकल बिस्तारै चलाउन लगाइ मोटरसाइकल चलाइरहेकै अवस्थामा धारिलो हतियार कर्दले मगरको घाँटी रेटेको स्वीकारेका छन् ।

घाँटी काटेपछि मोटरसाइकलबाट लडेका मगरलाई पुनः रेटेर हत्या गरी नालिमा फालेका थिए भने मोटरसाईकल सडकदेखि छेउ जङ्गलमा लगेर लडाईदिएका थिए । त्यसपछि मगरले बोकेको मोबाइल, धारिलो हतियार कर्द र आफ्नो मोबाइलसमेत लिम्बुले झिलझिले खोलामा फालेर फकिएका थिए । प्रहरीले लिम्बूलाई पक्राउ गरेपछि खोलाको पानीलाई स्काभेटर प्रयोग गरि थुनेर खोजी गर्दा फालिएको सामान फेला पारेको जनाएको छ ।

उनीहरुबीचको आर्थिक लेनदेनमा असमझदारी भई बढेको मनमुटाबको कारण घटना भएको देखिएको प्रहरीले जनाएको छ । लिम्बूलाई आइतबार झापा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिने प्रहरीले जनाएको छ