बेलबारी जंगलमा निगुरो टिप्न गएकी किशोरी माथी करणी

बेलबारी । मोरङको बेलबारी नगरपालिका ११ स्थित जंगलमा निगुरो टिप्न गएकी १६ वर्षीया किशोरीको बलात्कार भएको घटना सार्वजनिक भएको छ । मंगलबार दिउँसो ३ बजेतिर उनीमाथि ४० वर्षीय होम तामाङले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छिमेकमा रहेका ११, १२ र १३ वर्षका बालकहरुलाई लिएर किशोरी निगुरो टिप्न गएकी थिइन् ।

बालिका र बालकहरु चारै जनालाई नियन्त्रणमा लिएर तामाङले घटना गराएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । उनका अनुसार नियन्त्रणमा लिएर बालकहरुलाई सुरुमा पालैपालो किशोरी माथि बलात्कार गर्न लगाएको र त्यसपछि तामाङ आफूले पनि बलात्कार गरेको खुलेको हो । डर, धम्की र त्रास देखाउँदै तीन जना कलिला उमेरका बालकलाई नाता सम्बन्धकी बालिकामाथि बलात्कार गर्न लगाएर त्यसपछि तामाङ आफूले पनि बलात्कार गरेको पाइयो ढकालले बताए । बालिका र बालकहरुले अस्वीकार गरेपछि हातमा लाट्ठी लिएर पुगेका तामाङले ज्यान लिनेसम्मको धम्की दिएको प्रहरीले जनाएको छ । आफूमाथि धम्की आएपछि डरका कारण बालबालिका चुपचाप तामाङले भने अनुसार गर्न र घटना सहन बाध्य भएको पाइएको छ ।

प्रहरीका अनुसार बालकहरुलाई प्रयोग गरिसकेपछि तामाङले उनीहरुकै अगाडि बालिकालाई बलात्कार गरेको पत्ता लागेको छ । यसलाई प्रहरीले अनौठो घटनाका रुपमा लिएर अनुसन्धान अघि बढाएको छ । निगुरो टिप्न लक्ष्मी सामुदायिक वनमा गएका बालबालिका आफूहरुमाथि अमानवीय घटना भएपछि निगुरोसमेत नलिइकन घर फर्किएको किशोरीका एक आफन्तले बताए । चारै जनाको व्यवहार अरु बेलाकोभन्दा फरक रहेको पाइएपछि आफन्त र परिवारका सदस्यले सोधीखोजी गर्दा घटना बाहिरिएको हो । ‘सुरुमा बालकहरुलाई बलात्कार गर्न लगाएपछि तीनै बालकहरुलाई अगाडि राखेर तामाङले पनि बलात्कार गरेछन्,’ एक आफन्तले भने, ‘एकान्त जंगलको बीचमा घटना भएकाले उनीहरुले भाग्ने र बच्ने मौकै पाएनछन् ।’ तामाङले भोलिपल्ट पनि घरघरमा पुगेर सबैलाई भेट्दै घटनाका बारेमा कसैलाई नभन्न पुनः दबाब दिएको उनले बताए ।

घटनाका बारेमा थाहा भएपछि बालिकाका अभिभावक र आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङविरुद्ध बुधबार किटानी जाहेरी दिएका छन् । प्रहरीले घटनाका बारेमा बालकहरुसँग पनि सोधपुछ गरिरहेको छ । प्रहरीको अनुसार तामाङले धम्की दिएर आफूहरुलाई यस्तो कार्य गर्न लगाएको बालकहरुले बताएका छन् । ‘घटनापछि चारै जना डराएका छन् । राम्ररी कोहीसँग पनि बोल्न मान्दैनन्,’ उनले भने, ‘उनीहरु सबै जना मानसिक रुपमा विक्षिप्त जस्तो देखिन्छन् । कोही नयाँ मान्छे देख्दा केही गरिहाल्छन् कि जस्तो मान्छन् ।’ घटना बाहिरिएपछि बलात्कारमा संलग्न तामाङ फरार रहेकाले खोजी थालेर घटनाको गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको जानकारी ढकालले दिए ।

पहिलेदेखि नै बोलाउने, जिस्क्याउने र अनेक हिसाबले प्रलोभनमा पार्ने काम तामाङले गर्ने गरे पनि गाउँकै चिनजानका व्यक्ति भएकाले आफूले वास्ता नगरेको किशोरीले प्रहरीलाई बताएकी छन् । योजनावद्ध रुपमै भएको देखिने प्रहरीले जनाएको छ । घटनाका बारेमा बालबालिकाले आआफ्ना अभिभावकलाई सुनाइसकेका छन् । शरीरका केही भागमा चोटसमेत रहेकी बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि प्रहरीले बिहीबार विराटनगरको कोशी अस्पताल ल्याएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षणबाट बलात्कारको पुष्टि भएको प्रहरीले जनाएको छ ।

बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको स्थानीयले बताए । बालिका र उनकी आमासँग बिहीबार विराटनगर जानेसमेत खर्च नभएपछि स्थानीयले चन्दा उठाएर एक हजार पाँच सय रुपैयाँ दिएका थिए श्रीमतीले केही वर्ष अगाडि छाडिसकेका तामाङ भने भाई–बुहारीको घरमा बस्दै आएको खुलेको छ । ‘हाम्रोमा पनि कहिले काहीँ मात्रै आउने गर्नु हुन्थ्यो । अरु बेला कहाँ गएर के गर्नु हुन्छ हामीलाई थाहा भएन,’ बुहारीले भनिन्, ‘हिजो (बुधबार) देखि घरमा आउनु भएको छैन ।