कोरोनाबाट सुरक्षित रहन सन्देश सहित बेलबारी नगरको अनुगमन: कालोबजारी गर्नेलाई कारवाही हुने


बेलबारी नगरपालिकाले कोरोनाबाट सुरक्षित रहन सन्देशसहित लकडाउनको पालना र उपभोक्ताहित विपरितका काम भए नभएको बुझ्न अनुगमनलाई निरन्तरता दिएको छ । विभिन्न गुनासोहरु समेत आएको हुनाले त्यसको सुनुवाई तथा सुरक्षा सचेतनाका लागि सन्देश प्रवाह गर्ने प्रयास स्वरुप अनुगमनलाई जारी राखिएको नगरस्तरिय उपभोक्ता हित संरक्षण समितिले जनाएको छ । बेलबारी नगरपालिकाकी उपमेयर एवम् सो समितिकी संयोजक ढाकाकुमारी पराजुलीका अनुसार लकडाउनका समयमा विभिन्न ढंगले उपभोक्तालाई मार पर्ने गरीका गतिविधि भएको पाइएकाले सचेत समेत गराइएको छ । पराजुलीका अनुसार कतिपय मेडीकलहरुले विरामी नहेरेको, सागसब्जीको चर्को मुल्य वृद्धि गरेको गुनासो समेत आएका थिए । मुल्य वृद्धि गर्नेहरुलाई समेत गराइएको र मेडीकल पसलहरुलाई पनि विरामीको समस्या बुझ्दै आफ्नो धर्म पुरा गर्न आग्रह गरिएको पराजुलीले जानकारी दिनुभएको छ । अनुगमनका क्रममा केही व्यवसायीहरुले तरकारीजन्य वस्तुमा अनावश्यक मूल्यवृद्धि गरेको पाइएकोले महामारीको फाइदा उठाइ मूल्यवृद्धि कालोबजारी गर्ने व्यापारीलाई आइन्दा यस्ता कार्य गरेको पाइए नियमानुसार कार्वाही गरिने उपप्रमुख पराजुलीले बताउनुभएको छ ।
अनुगमनको क्रम निरन्तर जारी रहेकाले पुनः ती ठाउँहरुमा टोली जाने र अवस्था सुधार भएनभएको बुझेर आवश्यक कदम चाल्ने समितिले जनाएको छ । समितिले लकडाउन पालना गर्दै कोरोना संक्रमणबाट सुरक्षित रहन जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न समेत सबैलाई आग्रह गरेको संयोजक पराजुलीले बताउनुभएको छ । समितिले बेलबारी,भाउन्ने,वाहुनी,विहिबारे,कसेनी,सोमबारे लगायत ठाउँमा अनुगमन गरेको थियो ।राजमार्ग आसपासका क्षेत्रहरुमा लकडाउनलाई वेवास्ता गरेको देखिएकालाई सबैलाई सचेत गराइएको समेत समितिले जनाएको छ । उपमेयर पराजुली,कार्यपालिका सदस्य विन्दुकला गुरुङ,इलाका प्रहरी कार्यालय बेलबारीका प्रतिनिधि लगायत सम्मिलित टोलीले अनुगमन गरेको हो ।