किन काटियो सुन्दरहरैचा स्थित सुकुना मा.वि. को ३४ वटा रुख ? विज्ञप्ति सहित

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका स्थित वडा नं १० मा रहेको सुकुना माध्यमिक विधालयमा रहेका रुखहरु काटिएपछी सामाजिक सञ्चालमा चर्चाको विषय बनेको छ । विधालय परिसरमा रहेका ३४ वटा रुखहरु विधालयले काटेपछी सोमबार दिनभरी विधालय चर्चाको विषय बनेको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त विषय सार्वजनिक भएपछी विधालय प्रशासनले सोमबार दिउँसो विधालयको भनाई सार्वजनिक गरेको छ । विधालयका प्रध्यापक लक्ष्मी कुमार श्रेष्ठद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ :

” भर्खरै सामाजिक सञ्जाल मार्फत प्रेसित समाचार अनुसार सुकुना माध्यमिक विधालय, सुन्दरहरैचा १० ले ” लकडाउनको मौका छोपी विधालयको दर्जनौ रुख कटान गरि विक्रीमा राखिएको छ” भन्ने हाम्रो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा सत्यतथ्य कुरा निम्नानुसार प्रष्ट पार्न चाहान्छौ ।

१) सुकुना माध्यमिक विधालय परिसर भित्र आफ्नै जग्गामा लगाइएको कुकाठ ( सिसौ र मसला) जातका बिरुवा हुर्किएर भवन र खेल मैदानलाई समेत असर पारिरहेको अवस्थामा शिक्षा नियमावली र नमुना विधालय सुधार गुरु योजना तथा निर्देशिकामा उल्लेख भए अनुसार विधालय हाताभित्र जोखिम न्युनिकरणको प्रत्याभुती दिनका लागि ती रुखहरु कटान गरि अन्य जातका पोथ्रे बिरुवाहरु र फुलबारी लगाई विधालय परिसर भित्रको वातावरण रमणिय बनाउन आवश्यक भएको ।

२) मिति २०७७ साल असार २८ गते काठ विक्री समितिको मुल्यांकन सहितको सिफारिस र विधालय व्यवस्थापन समितिको सोही मितिको निर्णय अनुसार खुल्ला दरभाउ पत्रका आधारमा कस्तुरी स-मिल, सुन्दरहरैचा ११ लाई ३४ ओटा रुखको एकमुष्ट रकम रु ३,२१,००० ( तीन लाख एक्काईस हजार मात्र ) मा विक्री गर्ने निर्णय गरि ईलाका वन कार्यालय , सलकपुरमा प्रकृया अगाडि बढाइएको ।

३) हाल २४ वटा रुख कटान गरेको भएपनी छुटपुर्जी नआइसकेको हुनाले लकडी यथास्थानमा नै रहेको र सम्झौता अनुसार अरु बाकी रुखहरु कटान गर्ने र समयमै छुटपुर्जी ल्याई काठ निकासी गरिने ।

४) उक्त रकम विधालयमा निर्माणधिन पुर्वतर्फको पुरानो जिर्ण १० कोठे भवनको स्तरोन्नति गर्ने, नया टिन लगाउने, सिलिङ लगाउने र रङरोगन गर्ने आदि खर्च गरिने ।

साथै शिक्षक, कर्मचारी, विधालय व्यवस्थापन समितिको लगनशिलता, मेहेनत , आर्थिक मितव्ययीता र पारदर्शिताको फलस्वरुप स्थापित यस क्षेत्रको गर्व गर्न लायक यस सामुदायिक विधालयको गरिमालाई चोट पुग्ने गरि कुनै पनि प्रकारका समाचारहरु सम्प्रेषण गरि प्रेस स्वतन्त्रताको दुरुपयोग नगर्नुहुन समेत सम्बन्धित प्रेस , सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा विधालय परिवार हार्दिक अपिल गर्दछ ।