केराबारीमा पहिलोपटक समुदायका १ व्यक्तिमा कोरोना पुष्टि


केराबारी गाउँपालिकामा पहिलो पटक क्वारेन्टिन वाहिरका १ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । वडानम्बर ९ का २४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको केराबारी गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । केराबारी गाउँपालिकामा समुदायमा संक्रमण देखिएको यो नै पहिलो केस हो । यो सँगै केराबारीमा संक्रमितको संख्या ४ पुगेको छ । यस अघि संक्रमित ३ जना भने क्वारेन्टिनमा बसेका व्यक्ति थिए ।

बेलबारी १ का संक्रमित व्यक्तिहरुको कन्ट्याक ट्रेसिङका क्रममा भएको परिक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । बेलबारी र केराबारीको सिमाक्षेत्रमा संक्रमण देखिएकाले कन्ट्याक ट्रेसिङका क्रममा बेलबारी नगरपालिकाले बेलबारी पटि र केराबारी गाउँपालिकाले आफ्नो क्षेत्रमा व्यक्ति पहिचान गरेर कोरोना परिक्षणका लागि पठाएका थिए । कन्ट्याक ट्रेसिङमा परेका ३० व्यक्तिको स्वाव संकलन गरेर गत भदौ २ गते प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पठाइएको र शनिबार रिपोर्ट आएको केराबारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चौलागाईले जानकारी दिनुभयो । संक्रमित युवकलाई आइतबार गोठगाउँस्थित आइसोलेसनमा लगिएको छ ।
केराबारीका ति व्यक्तिमा संक्रमण पुष्टि भएसँगै उनीसँग भेटघाटमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङको तयारी गरिएको छ । बेलबारीसँगको सिमाक्षेत्र भएकाले केराबारी गाउँपालिका र बेलबारी नगरपालिका स्वास्थ्य शाखाविचको समन्वयमा कन्ट्याक ट्रेसिङ गरेर कोरोना परिक्षणका लागि नमुना पठाइने चौलागाईले जानकारी दिनुभयो ।
संक्रमित व्यक्तिको घर परिवारका सदस्य,भेटघाटमा आएका तथा उनका छरछिमेकलाई वाहिर हिँडडुल तथा भेटघाट नगर्न र होम क्वारेन्टिनमै बस्न केराबारी गाउँपालिका स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।