बेलबारी ११ का एक व्यक्तिमा कोरोना पुष्टि :कन्ट्याक ट्रेसिङको तयारी

बेलबारीका थप एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेलबारी ११ का पुरुष रहेका छन् । दुहबी २ स्थित प्रिमियर स्टिल प्रा.ली. मा रोजगारीका लागि गएका ती व्यक्तिमा कोरोना पुष्टि भएको हो । दुहबी नगरपालिकाले गरेको स्वाव नमुना परिक्षण रिपोर्ट अनुसार उनमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रिमियर स्टिल प्रा.लि.मा कार्यरतहरुको गत भदौ २ गते संकलित स्वाब नमुनाको शुक्रबार विहान आएको रिपोर्टमा बेलबारीका ती युवकमा संक्रमण पुष्टि भएको दुहबी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विन्देश्वर प्रसाद महतोले जानकारी दिनुभएको छ ।
संक्रमण पुष्टि भएपनि सो कम्पनीले हेलचेंक्रयाई पुर्ण व्यवहार गर्दा संक्रमित पहिचान गर्न समस्या भएको थियो ।
पिसिआर परिक्षण गरिएका सबैलाई रिपोर्ट नआउन्जेल क्वारेन्टाइनमा राख्न भनिएपनि सो कम्पनीले भने रिपोर्टबारे जानकारी नदिँई बेलबारीका ति व्यक्ति सहितलाई घर जान भनेको थियो । सामान्य अवस्थामै सिटि सफारी खोजेर घर फर्कँदैगरेका ति व्यक्तिलाई साथीले फोन गरेपछि मात्रै आफुमा कोरोना संक्रमण थाहा पाएको उनले बताएका छन् । संक्रमण भएको थाहा पाएपछि सिटीसफारीले पनि उनलाई वेवारिसे छोडिदिएको थियो । निकै मेहनत पछि मात्रै बेलबारी नगरपालिकाको स्वास्थ्य शाखाले ति व्यक्तिलाई उद्दार गरेको थियो । उनलाई अहिले गोठगाउँ स्थित आइसोलेसनमा राखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
बेलबारी ११ का ति व्यक्तिमा संक्रमण पुष्टि भएसँगै उनका परिवारलाई सचेत गराइएको र कन्ट्याक ट्रेसिङको तयारी भैरहेको स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ ।