समस्यामा परेका पत्रकार र सञ्चार गृहको उद्दार गर्न प्रेस युनियनको माग

विराटनगर । कोभिड महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासंग ९ सुत्रीय माग अघि सारेको छ । युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न दश जिल्लाका अध्यक्षहरुको सहभागितामा आज भएको भर्चुअल संवादबाट साझा धारणा तय गर्दै सरकार तथा संचार सम्बद्ध व्यवसायिक संघ संगठनप्रति ती माग प्रस्तुत गरिएको हो ।

युनियनले जोखिम क्षेत्रमा रहेका पत्रकारहरुको कोभिड–१९ परीक्षण दर बढाइयोस र संक्रमणमा परेका पत्रकारहरुको उपचारमा ध्यान दिन तथा प्रदेश राजधानी विराटनगर र जिल्लाका पत्रकारहरुमा संक्रमण पुष्टि हुनासाथ आईसोलेसन सेन्टर तथा अस्पतालमा भर्ना गर्ने व्यवस्था गर्न आग्रह गरेको छ ।

युनियनले कोभिड–१९ का कारण आर्थिक संकटको सामाना गरिरहेका पत्रकारहरुलाई सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रबाट लेखनवृत्ति कार्यक्रम सञ्चालन तथा यसलाई पारदर्शी अनि सहभागितामुलक बनाउन, सरकारद्वारा विषम परिस्थितिमा सञ्चारकर्मी र सञ्चार गृहका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न, कोरोना भाईरस सङ्क्रमका कारण बन्द भएका र सञ्चालनमै समस्या भईरहेका अनलाईन, रेडियो र भिटी जस्ता सञ्चार गृहका निम्ति सरकारले ‘सफ्ट बैंक लोन’ तथा अन्य कल्यणकारी योजनाको व्यवस्थापन गर्न, साना लगानीका मिडियालाई प्रेस काउन्सिलबाट अहिलेको विषम परिस्थितिमा अंक नपुगेपनि स्वतः नवीकरण हुने व्यवस्था गर्न,साथै धेरै पत्रकारको गुमेको रोजगार पुनःस्थापित गर्न नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियन केन्द्रीय समितिले सरकारलाई दबाब दिएर रोजगार बैंकको प्रबन्ध गर्न आवश्यक पहल गर्न भनिएको छ ।