संक्रमितसँगै रहेका बेलबारीका अर्का व्यक्तिको कोरोना नेगेटिभ,पुनः परिक्षण गरिने


अस्पतालमा हेरचाह गर्ने व्यक्तिमै संक्रमण पुष्टि भपछि सम्भावित संक्रमितको रुपमा हेरिएका बेलबारीका अर्का व्यक्तिमा भने कोरोना नेगेटिभ देखिएको छ । न्युरो अस्पताल विराटनगरमा उपचारका लागि गएका बेलबारी १ का ती व्यक्तिको शनिबार आएको रिपोर्ट अनुसार कोरोना संक्रमण नदेखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । उनैलाई उपचार हेरचाह गर्न गएका बेलबारी २ का १ व्यक्तिमा यसअघि कोरोना पुष्टि भैसकेको छ । गत साउन २० गते दुवैजनाको स्वाव नमुना संकलन गरेर परिक्षणका लागि लगिएको थियो । बेलबारी २ का व्यक्तिमा भने यसअघि गत साउन २२ विहिबार नै कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएका व्यक्तिले नै उनका आफन्त बेलबारी १ का ती व्यक्तिलाई सुरुदेखि नै अस्पतालमा हेरचाह र उपचार गराएका थिए भने गत २० गते उनैले घरसम्म ल्याइदिएका थिए ।
गत साउन १३ गतेको दुर्घटनामा घाइते भएपछि उनलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको थियो । त्यसदिनदेखि नै उपचारमा खटिएका व्यक्तिमै कोरोना पुष्टि भएपछि घाइते ति व्यक्तिमा पनि संक्रमणको आसंका गरिएको थियो ।

अझै ढुक्क हुने अवस्था छैन

ति व्यक्तिको यो पटकको रिपोर्टमा संक्रमण नेखिएपनि ढुक्क हुने अवस्था भने छैन् । बेलबारी २ का संक्रमण पुष्टि भएका व्यक्तिमा संक्रमणको स्रोत र समय पत्ता लागेको छैन् । गत साउन २० गते मंगलबार संकलन गरिएको नमुनाको रिपोर्ट आएको हो । तर स्वाव नमुना संकलन गरिए पछाडी पनि दुवैजना सँगसँगै रहेका थिए । संक्रमण पुष्टि भएका व्यक्तिले नै अस्पतालबाट घरसम्म ती व्यक्तिलाई ल्याइदिएको हुनाले यसबिचमा अवस्था कस्तो रह्यो भन्ने अब पुनः परिक्षण पछि मात्रै थाहा हुनसक्छ । अस्पतालबाट डिस्चार्ज भएर घर आएपछि पनि स्थानिय छिमेकी परिवारका सदस्य लगायत व्यक्तिहरु समेत घाइते व्यक्तिसँगको भेटघाटमा रहेकाले उनीहरु पनि निगरानीमै बस्नुपर्ने हुन्छ ।
बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले पनि शनिबार आएको रिपोर्टकै आधारमा ढुक्क हुने अवस्था नरहेको बताउनुभएको छ । केही दिनभित्रै ति व्यक्ति सहित परिवारका सदस्य एवम् बेलबारी २ का संक्रमित व्यक्तिका सम्पर्कमा आएकाहरुको समेत नमुना परिक्षण गरिने विश्वकर्माले जानकारी दिनुभएको छ । थप संक्रमण देखिन सक्ने सम्भावना भएका बेलबारी १ र २ का ति क्षेत्रका सम्बन्धित व्यक्तिका परिवारका सदस्य,छिमेकी लगायतलाई पनि सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्न सचेत गराइएको विश्वकर्माले जानकारी दिनुभएको छ । सम्भावित संक्रमित, परिवारका अन्य सदस्य छरछिमेकी सहितले सुरक्षित रुपमा क्वारेन्टिनमा बस्नु र भेटघाट बन्द गर्नु आवश्यक छ ।