बेलबारीमा कोरोनाः भयावह अवस्थाको संकेत तर अहिलेनै आम समुदायमा फैलिसकेको हैन


ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै बेलबारीमा समुदायस्तरमै कोरोना संक्रमण फैलने संकेत देखिएको छ । आफन्तको उपचारका लागि न्युरो अस्पताल विराटनगर गएका बेलबारी २ का ४२ वर्षिय एक पुरुषको स्वाब परिक्षणमा कोरोना संक्रमण देखिएको थियो ।विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जनरल फिजियन डाक्टर देवराज घिमिरेका अनुसार भारत लगायत संक्रमण प्रभावित मुलुकबाट नआइ नेपालमै रहेका व्यक्तिहरुको ट्राभल हिस्ट्री नभएको मानिन्छ । ट्राभल हिस्ट्री नभएका, क्वारेन्टिनमा पनि नबसेका र लकडाउन समेत नरहेको अवस्था भएकाले ति व्यक्तिको धेरै व्यक्तिसँग भेटघाट सम्पर्क हुने भएकाले समुदायमा संक्रमणको जोखिम प्रवल रहेको छ ।

स्वाव परिक्षणबारे हामीलाई थाहा दिइएन :स्वास्थ्य शाखा
स्वाब संकलन भएपछि पनि सम्बन्धित व्यक्ति वा अस्पतालले समेत आफुहरुलाई त्यसबारेमा थाहा नदिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाले बताएको छ । त्यस्तो जानकारी समयमै आएको भए रिपोर्ट नआउन्जेल सम्म सम्बन्धित व्यक्तिलाई क्वारेन्टिनमा राख्ने जस्ता सुरक्षात्मक विधि अपनाइन्थ्यो भन्ने शाखाको भनाई छ । संक्रमण प्रभावित व्यक्ति क्वारेन्टिनमा नबसेको र सामान्य रुपमा हिँडडुल,भेटघाट जस्ता कार्यले संक्रमण समुदाय स्तरमा पुग्न सक्ने जोखिम रहेको भन्दै स्वास्थ्य शाखा समेत चिन्तित छ ।
जनस्वास्थ्यविद डाक्टर समिरमणी दिक्षितले पनि खुलारुपमा रुपमा हिडडुल व्यवहार गरिरहेका र ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना संक्रमण देखिनु ‘कम्युनिटी ट्रान्समिसन’ कै संकेत भएको बताउनु भएको छ । समुदायमा कोरोना संक्रमणको अवस्था आउन सक्ने खतराका बिच सबैले गम्भिरताका साथ संक्रमणबाट सुरक्षित रहने उपाय अपनाउन दिक्षितले सुझाव दिनुभएको छ ।
संक्रमणको अवस्था तत्काल पत्ता लगाउन र सम्भावित संक्रमितहरुलाई क्वारेन्टिनमा राख्न तत्काल आवश्यक कदम चालिसकिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ ।
बेलबारीमा अहिले नै समुदायस्तरमा कोरोना संक्रमण फैलियो भनेर आतंकित हुने र त्रास फैलाउनु पर्ने अवस्था आइसकेको हैन् । तर,ठुलो खतराको संकेत भने अवस्य हो । सुक्ष्म ढंगले कन्ट्रयाक टे्रसिङको दायरामा आउनेहरुको पहिचान गर्ने र उनीहरुमा पनि संक्रमण छ की छैन् भनेर पिसिआर परिक्षण गरेपछिमात्रै आम समुदायमा फैलिएको हो वा हैन् भन्ने निक्र्यौल हुन्छ ।
सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले स्रोत नखुलेको तर अहिले १ जनामा मात्रै संक्रमण देखिनु स्थानिय समुदाय संक्रमण भएपनि आम समुदाय स्तरमा देखिएको संक्रमण भनीहाल्न नमिल्ने बताउनुभएको छ । डाक्टर पुन भन्नुहुन्छ ‘समुदायस्तरमै संक्रमण फैलिएको संकेत त हो । तर आम समुदायमा देखिइसकेको अवस्था नभएकाले अब यसपछि त्यस क्षेत्रमा हुने टेष्टको रिजल्टले मात्रै समुदायस्तरमा फैलिएको हो होइन भनेर मान्न सकिन्छ ।’ विश्व स्वास्थ्य संगठनले पनि निश्चित क्षेत्र वा समुदायमा निकै ठुलो संख्यामा संक्रमण हुँदा मात्रै समुदायस्तरमा फैलिएको मान्ने भएकाले पनि टेष्टको दायरा बढाएर अवस्था निक्र्यौल गर्नुपर्ने डाक्टर पुनको भनाई छ ।
व्यक्ति आँफै सचेत नभए कोरोना नियन्त्रण कठिन:डाक्टर शेरबहादुर पुन
व्यक्ति आँफै सचेत नभएसम्म कोरोना संक्रमण नियन्त्रण कठिन हुने डाक्टर पुनले बताउनुभएको छ । संक्रमण व्यक्तिको व्यवहारले व्यक्तिमै सर्ने भएकाले पालिकाले सरकाले सुरक्षा गरिदिने भनेर मात्रै संक्रमण नियन्त्रण नआउने भएकाले पहिलो नम्बरमा व्यक्ति नै सचेत हुनुपर्ने बताउनुभएको छ । माक्स लाउने, सामाजिक दुरी कायम गर्ने,भिडभाड नगर्ने,भिडमा नजाने, साबुनपानीले हात धुने जस्ता उपायलाई व्यवहारमा इमान्दारीसाथ लागु नगरेसम्म कोरोन नियन्त्रण गाह्रो हुने भएकाले सबै जना गम्भिर बन्न डाक्टर पुनले सुझाव दिनुभएको छ ।
यसैबिच,बेलबारी नगरपालिकाले संक्रमित व्यक्तिको घर शिल गरेको बताएको छ । अवस्था बुझेर बेलबारी वडानम्बरको २ को सो क्षेत्र नै शिल गर्ने अवस्था आउनसक्ने पनि बेलाबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताउनुभएको छ । संक्रमित व्यक्तिका परिवारका सदस्यहरुको पिसिआर परिक्षणका लागि शुक्रबार नमुना संकलन गरेर पठाइने पनि नगरपालिकाले जानकारी दिएको छ ।


यसैबिच,बेलबारी नगरपालिकाले संक्रमित व्यक्तिको घर शिल गरेको बताएको छ । अवस्था बुझेर बेलबारी वडानम्बरको २ को सो क्षेत्र नै शिल गर्ने अवस्था आउनसक्ने पनि बेलाबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताउनुभएको छ । संक्रमित व्यक्तिका परिवारका सदस्यहरुको पिसिआर परिक्षणका लागि शुक्रबार नमुना संकलन गरेर पठाइने पनि नगरपालिकाले जानकारी दिएको छ ।