बेलबारीमा पहिलो पटक ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा कोरोना


बेलबारीमा पहिलोपटक ‘ट्राभल हिस्ट्री’ नभएका,क्वारेन्टिन नबसेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । आफन्तको उपचारका लागि न्युरो अस्पताल विराटनगर गएका बेलबारी २ का ४२ वर्षिय एक पुरुषको स्वाब परिक्षणमा कोरोना संक्रमण देखिएको हो । न्युरो अस्पतालमा चिकित्सकमै कोरोना संक्रमण देखिएपछि अस्पतालमा सेवा बन्द गरेर त्यहाँ गएकाहरुको कोरोना परिक्षण गरिएको थियो । परिक्षणका क्रममा ती व्यक्तिमा कोरोना संक्रमण देखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । संक्रमण प्रभावित मुलुकबाट आएको ट्राभल हिस्ट्री नभएका घरमै बस्ने गरेका व्यक्तिमै कोरोना संक्रमण पुष्टि भएको बेलबारीमा यो पहिलो पटक हो । ट्राभल हिस्ट्री नभएका व्यक्तिमा संक्रमण देखिएसँगै समुदायस्तरमा कोरोना फैलिने प्रवल सम्भावना हुने जनस्वास्थ्यविद डाक्टर समिरमणी दिक्षितले जानकारी दिनुभएको छ ।
परिवारसँगै रहेका ति व्यक्तिमा संक्रमण पुष्टि भएसँगै सम्पर्कमा आइसकेको पनि विश्वकर्माले जानकारी दिनुभएको छ । खुलारुपमै हिँडडुल गरिरहेका व्यक्तिमा संक्रमण देखिएको हुनाले अब ती व्यक्तिसँगको भेटघाट सम्पर्कमा आएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ आवश्यक हुन्छ । कन्ट्रयाक ट्रेसिङ सहित प्रक्रियाका लागि तयारी र सम्बन्धित निकायसंगको समन्वय भैरहेको विश्वकर्माले जानकारी दिनुभएको छ । उनीसँगको परिवारका सदस्य तथा भेटघाट हुने व्यक्तिहरु पनि अब तत्काल क्वारेन्टिन बस्नुपर्ने आवश्यकता हुन्छ । त्यस्तै भारतबाट फर्किएर बेलबारीस्थित क्वारेन्टिनमा बस्दै आएका बेलबारी ३ का ३० वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै बेलबारीमा संक्रमितको संख्या ६ पुगेको छ ।