सुन्दरहरैचामा बनेको दुई दिनमा भत्कियो पुलको पंखा

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ९ मा बनेको पुल बनेको दुई दिनमा पुलको पंखा भत्किएको छ । वडा नं ९ स्थित पुर्वपश्चिम लोकमार्गको झरना पुल देखि करिब ५०० मिटर दक्षिणपट्टी रहेको झरना टोल र चित्रे टोलको सिमानामा बनेको पुलको पंखा भत्किएको हो । करिब १० लाखको लागतमा बनेको उक्त पुल उपभोक्ता समितिबाट निर्माण गरिएको हो । तर उपभोक्ता समितिले पुन पुल बनाउन ठेक्का लगाएको थियो ।

उपभोक्ता समितिका अध्यक्ष माधव प्रसाद पोखरेलका अनुसार उपभोक्ता समितिलाई प्राविधिक ज्ञान नभएको कारण उक्त पुल निर्माण गर्न ठेक्का लगाइएको हो । उक्त पुल बनाउन आर्थिक वर्षको शुरुमै बजेट निर्माण गरिए पनि नगरपालिकाले शुरुमै पुल निर्माण गर्न चासो नदिएका कारण असार वर्खा याममा पुल निर्माण गरिएकोले भत्किएको अध्यक्ष पोखरेलले बताए । उक्त पुल निर्माण गर्न जेष्ठको अन्तिम तिर नगरपालिका सग सम्झौता भएको थियो ।

नगरपालिकाका इन्जिनियर प्रदिप राईका अनुसार पुल निर्माण गरि पुलको पंखा चालू अवस्थामा नरही खाल्डोमा मिस गिट्टी हालिएको कारण निर्माण भएको पुलको पंखालाई मिसगिट्टिले ठेलेर भत्किएको हुन सक्ने बताए । नगरपालिकाले आर्थिक वर्षको अन्तिम तिर बजेट सक्नलाई हतार हतारमा विकास निर्माणका कार्यहरु गर्ने हुदा यस्तो समस्या आएको स्थानियहरुको भनाई रहेको छ ।

उक्त निर्माणधिन पुलको बजेट नगरपालिकाबाट निकासा भईसकेको छ । उक्त पुलको पंखा भत्किए पनि निर्माण कम्पनीसग पुन निर्माण गर्ने सम्झौता भएको अध्यक्ष पोखरेलले बताए । उक्त निर्माण भएको पुलको दुवै साइटका पंखाहरु अहिले चर्किएका छन । उपभोक्ता समितिको भनाई अनुसार निर्माण गर्दा कमसल सामाग्रीको प्रयोग भन्दा पनि असारमा छिटो छिटो काम सक्नु पर्ने हुदा यस्तो समस्या भएको हो ।

हाल अहिले पुन उक्त पुलको पंखा निर्माण गर्न तयारी अवस्थामा निर्माण सामाग्रीहरु राखिएको छ । तर असारमा बजेट सक्ने तयारी नगरपालिकाले गरेको कारण यस्तो समस्या बर्सेनि अन्य विकास निर्माणमा समेत देखिने गरेको छ ।

उक्त पुल निर्माण गर्ने निर्माण कम्पनीले भने पुन पुलको पंखा निर्माण गरिदिने बताएको छ । निर्माण कार्य सम्पन्न भए पनि उपभोक्ताले पुल बनेको भोलि पल्ट नै पंखामा मिसगिट्टी हालेर पंखामा लोड गराएपछी पंखा भाचिएको निर्माण कम्पनीले बताएको छ । पुल बनाएर उपभोक्ता समितिलाई बुझाए पनि आफ्नो नैतिक जिम्मेवारीका कारण पुलको पंखा पुन निर्माण गरिदिने निर्माण कम्पनीले बताएको छ ।