एसइई पछि उच्च शिक्षा छनोटको यात्रा आफैले तय गर्ने


राजेश खत्री

एसइई पछिको उच्च शिक्षाको यात्रा शैक्षिक अवसर र योग्यताको ढोका हो । कक्षा ११ र १२ लाई युनिभरसिटी अध्ययनको प्रारम्भिक चरण मान्न सकिन्छ । विद्यालय तहको अन्तिम कक्षा वा युनिभरसिटी अध्ययनको प्रारम्भिक चरण जे भने पनि विद्यार्थीहरुले आफ्नो क्षमता, रुचि र स्तर अनुसारको भविष्य निर्माणको निम्ति विवेकपुर्ण ढङ्गले उचित विषय र उचित कलेज छनोट गर्ने समय एसइई रिजल्ट प्रकाशनको पन्ध्र दिन हो । यसको संरचना केही फरक परेको मात्र हो । कक्षा ११ र १२ विद्यालय शिक्षाको विस्तारित रुप हो । पहिले उच्च माध्यमिक शिक्षा थियो संरचनामा परिवर्तन गर्र्दा माध्यमिक तह बनाइयो ।
अब एसइईपछिको यात्रा उच्च शिक्षाको प्रवेश बिन्दुका रुपमा लिन्छ । यो अवस्थामा विद्यार्थीले कस्तो विद्यालय कसरी छान्ने भन्ने महत्वपुर्ण पक्ष हो । त्यसैले कक्षा ११ मा केही आधार भनाएर विद्यालय प्रवेश गर्नु उचित हुन्छ ।
प्रवेशको मुख्य आधार त्यो विद्यालयमा तालिम प्राप्त र योग्यता तथा अनुभवले खारिएका शिक्षक भएको संस्था छान्नुपर्छ । शैक्षिक संस्थाको व्यवस्थापन पनि कति सक्षम छ त्यसको नेतृत्व शिक्षाविद्ले गरेको छ कि व्यापारी, सामाजिक कार्यकर्ता कसले गरेको छ त्यो कुरा विद्यार्थीले बुझ्नुपर्छ । व्यावसायिक चरित्रको व्यक्तिले विद्यालय व्यवस्थापन समितिको नेतृत्व प्रदान गरेको ठाँउमा शैक्षिक वातावरण फरक अर्थात् आकर्षण भएको पाइन्छ ।
प्रिन्सिपल वा प्रधानाध्यापक व्यावसायिक र पेसागत दक्षता भएको छ कि छैन, फ्याकल्टीबाट आएको छ कि त्योभन्दा बाहिरबाट आएको छ, यसको अध्ययन गर्नुपर्छ । टिचिङ फ्याकल्टीबाट आएका प्रिन्सिपल बढी व्यावसायिक र पेसागत दक्षता भएको देखिन्छ । त्यसैले, व्यवस्थापन समितिको कार्य अभ्यासमा के विषयलाई प्राथमिकता दिएको छ भन्ने हेनुपर्छ । विद्यार्थीको सिकाइलाई वा आय–आर्जनलाई महत्व दिएको छ कि, भौतिक संरचना विस्तार वा के मा ध्यान दिएको छ, त्यो विद्यार्थीले हेर्नुपर्छ । विद्यार्थीलाई भौतिक सुविधा, तालिम प्राप्त शिक्षक, सिकाइ उपलब्धि पनि आवश्यक छ । अनुभव प्राप्त, आफ्नो क्षेत्रमा विषयगत ज्ञानमा दखल राख्ने शिक्षक, त्यस्ता शिक्षक राख्नका लागि व्यवस्थापन समितिको भुमिका हेर्नुपर्छ कतिपय विद्यालयले प्रत्येक वर्ष शिक्षक परिवर्तन गरिरहेको पाइन्छ, यसले विद्यार्थीको सिकाइ उपलब्धिमा स्थायित्व ल्याउन कठिन हुन्छ । शिक्षकहरु त्यो विद्यालयमा कति वर्षदेखि काम गरिरहेका छन् त्यसबाट पनि शैक्षिक संस्थाको अवस्था जानकारी हुन्छ । लामो समय काम गरेका छन् भने पढाइको वातावरण राम्रो मान्न सकिन्छ । यसको सूचक शैक्षिक संस्थाका बुलेटिन, वार्षिक मुखपत्र, विभिन्न क्रियाकलापसँगको प्रकाशनको अध्ययनबाट सूचना प्राप्त गर्न सकिन्छ । यस्ता प्रकाशनमा गलत सूचना राख्न मिल्दैन । कतिपयले ‘बेस्ट स्कुल’, ‘नम्बर १’ भनेर आफ्नो विज्ञापन आफैँ गरिरहेको पनि पाइन्छ । बेस्ट स्कुल भन्यो भने विद्यार्थीले छानविन गर्दा समय गुज्रन सक्छ । विद्यालय व्यवस्थापन समिति, त्यहाँका शिक्षकसँगको कुराकानी साथै उनीहरुका प्रकाशन अध्ययन गर्दा धेरै विषय थाहा हुन्छ । त्यो विद्यालयले अध्ययन अनुसन्धानलाई पनि कतिको महत्व दिएको छ, अध्यापन विधि के छ भन्ने पक्ष पनि हेर्नुपर्छ ।
एउटा राम्रो विद्यालयका चारित्रिक विशेषता धेरै हुन्छन् । तालिम प्राप्त तथा योग्य तथा अनुभवी शिक्षकको उपस्थिति, शिक्षकको स्थायित्व, व्यवस्थापकीय क्षमता भएको व्यवस्थापन समिति, आवश्यक भौतिक सुविधा भएको, विद्यार्थीलाई कार्यकलाप र अतिरिक्त क्रियाकलापको व्यवस्था भएको हुन्छ । विद्यार्थीको सिकाइ उपलब्धि बढाउन प्रतिबद्ध भएको शिक्षक समुह हुनुपर्छ । यस्ता विषय विभिन्न प्रकाशन, विद्यार्थी आफैँले, अभिभावक तथा अग्रजबाट बुझ्न, हेर्न सकिन्छ । आवश्यक प¥यो भने त्यहाँकको फ्याकल्टीसँग बुझ्नुपर्छ । प्रकाशित तथ्य ठीक छन् कि छैनन् भन्ने पनि परीक्षण गर्नुपर्छ ।
विद्यालयमा विद्यार्थी स्वयंको प्रतिबद्धता पनि महत्वपूर्ण पक्ष हो । कक्षा ११ मा भर्ना हुँदा कस्तो अपेक्षा बोकेर गएको हुन्छ भन्नेमा भर पर्छ । राम्रो अध्ययन÷अध्यापन, राम्रा शिक्षकको उपस्थिति, भौतिक सुविधा केको अपेक्षा गरेको छ त ? यसले पनि संस्था रोजाइमा भर पर्छ ।
विगत केही वर्ष यता राम्रो भौतिक सुविधा भएको तर भित्रको पठन–पाठनमा दम नभएको पनि पाइएको छ । त्यस्ता विद्यालय पनि विद्यार्थीले छानेको पाइन्छ । भौतिक सुविधाले मात्र सिकाइ उपलब्धि बढ्दैन भन्ने अध्ययनबाट पाइएको छ । हामीले केही वर्षअघि गरेको अध्ययनमा भौतिक सुविधासम्पन्न भएको विद्यालयमा पढेको विद्यार्थी र रुखमुनि बसेर पढेका विद्यार्थीको सिकाई उपलब्धी लगभग बराबर भएको पाइयो । अध्ययनले के देखाएको छ भने, भौतिक सुविधा कम भएर पनि प्रतिबद्ध शिक्षक,कुशल व्यवस्थापनको जमात छ भने सिकाइ उपलब्धि राम्रो हुन्छ । त्यसैले मूलतः शैक्षिक संस्था छनोट गर्दा टिचिङ् फ्याकल्टी पुरानो, अनुभवप्राप्त, दक्ष शिक्षक छ कि छैन, गहकिलो अध्ययन गर्नुपर्छ ।

एसइईको ग्रेडका आधारमा विषय छनोट
कतिपय शैक्षिक संस्थाले केही विषयलाई प्राथमिकता दिएको हुन्छ । कुनै विद्यालय अत्तिरिक्त क्रियाकलापमा र कतिपयले अर्कैलाई प्राथमिकता दिएको हुन्छ । विद्यार्थीले चाहेको विषयगत दक्षता त्यो विद्यालयमा भए÷नभएको हेर्नुपर्छ । सम्बन्धित विषयमा विज्ञता भएका शिक्षक छ कि छैनन् हेर्नुपर्छ । विषय छनोटमा विद्यार्थीको रुचिमा भरपर्छ ।
केही वर्षयता विद्यार्थीको सिकाइ उपलब्धि मूलयाङ्कन अक्षरांक पद्धतिमा हुन थालेको छ । पछिल्लो समय विद्यार्थी असफल हुँदैनन् भन्ने मान्यता राख्दै आएको छ । एसइईमा डि वा इ ग्रेड आयो भने विद्यार्थीले त्यसपछिको शैक्षिक यात्रामा भर्नाको अवसर पाउँदैन, यसको अर्थ असफल भएको हो । यो विषय विद्यार्थी, अभिभावकलाई हाम्रो राष्ट्रिय प्रणालीले बुझाउन सकेको छैन । अब विद्यार्थी अनुत्तीर्ण हुँदैनन् भन्ने विषय विद्यार्थी र अभिभावकले राम्रोसँग बुझाउन नसकेको अवस्था छ । आंशिक प्रणालीलाई विस्थापित गरेर अक्षरांकन पद्धति सरु भएको छ । अक्षरांक प्रणालीले इंगित गरेको श्रेणी कत्तिको भरपर्दो छ त भनेर विद्यार्थीले आफैँले क्षमताको मूल्याङ्कन गर्न सक्नुपर्छ । एसइईमा ए ग्रेड आएको छ, तर आफ्नो कार्यसम्पादन सी ग्रेडको पनि छैन भने सोहीअनुसारको यात्रा तय गर्नुपर्दछ ।
कतिपय विद्यार्थीको ग्रेडले उनको क्षमता ठ्याक्कै मापन गरेको छ भन्न सकिदैँन । किनभने, तीन घन्टाको जाँचले विद्यार्थीको सबै पक्ष मापन गर्न सक्छ भन्ने हुँदैन । अब कुन धाराको शिक्षामा लाग्ने भन्ने केही निर्णय क्षमता विद्यार्थी आफैँले पनि राखेको हुन्छ । एउटा विद्यार्थीले ए ग्रेड ल्यायो भने ती विद्यार्थी प्राविधिक धारतिर नगएको पनि पाइन्छ । अलिकति मिहिनेत ग¥यो, केही विषय घोक्ने र त्यसको पुन ः उत्पादन गर्दा ए ग्रेड ल्याउन खासै कठिन छैन । त्यो सिर्जनशील व्यक्ति हो कि होइन, क्षमता छ कि छैन भन्ने कुरा ए ग्रेड ल्याए पनि मापन गर्न सकिएको छैन । ग्रेडका आधारमा प्राविधिक धार वा अन्य विषय अध्ययन छनौट गर्ने गरेको पाइन्छ । तर, विषय छनौटका निम्ति आफ्नो रुचि,क्षमता र शिक्षाको बजारीकरणलाई मुख्य आधार बनाउन उचित मानिन्छ ।

विद्यालय छनोट को प्रारम्भिक विधि

 विद्यालय छनोटका लागि विद्यार्थी आफैँ तयारी हुनुपर्दछ । आफुले पढ्ने विषय र भविष्यका लागि बनाएको लक्ष्य सँग जोड्न सक्नुपर्दछ । लक्ष्य एकातिर र पढ्ने विषयवस्तु अर्कातिर हुनुहुदैँन ।
 आफुुले अध्ययन गर्ने विषय सम्बन्धित विद्यालयमा पढाइ हुन्छ या हुदैँन, यदी पढाइ भए कुन स्तर, अनुभव र कस्तो प्रशासनको व्यवस्थापनमा पढाइ हुन्छ ।
 विद्यालय प्रशासन तथा व्यवस्थापन कतिको परिवर्तित समय अनुकुल छ, परम्परागत वा प्रविधिको प्रयोग गर्न सक्ने कुन स्तरको छ भन्ने कुरालाई मनन गर्न आवश्यक छ ।
 विद्यालयले पढाईको अतिरिक्त अन्य क्रियाकलापहरु कसरी व्यवस्थापन गर्छ वा गर्दै आएको छ ।
 सम्बन्धित विद्यालयका शिक्षक तथा कर्मचारीहरु कस्तो शैक्षिक विधि अपनाउन सक्ने सम्भावनाका छन् ।
 विद्यालयको भौतिक पुर्वाधार, पुस्तकालय, विषयगत ल्याबको अध्ययन गर्न जरुरी छ ।
 विगतका ५ वर्ष उपलब्धीको अवस्था कस्तो छ, उपलब्धी एकरुपता वा उत्तारचढाप के छ ।
 विद्यालयको अनुशासन, परिक्षाप्रणाली, भौतिक तथा शैक्षिक वातावरण
 अभिभावकको आर्थिक अवस्था र आफुले छनोट गरेको विषयकोे मार्केट माग कस्तो छ ।
 विद्यालय छनोटका निम्ति विशेषत विद्यालयको ठुलो भवन, राम्रो गाडी, राम्रो पोशाक, साथीहरुको भनाइ, सामुहिक निर्णय भन्दा पनि आफ्नो क्षमता, इच्छा, विद्यालयको भौगलिक दुरी लगायत अभिभावकको आर्थिक क्षमतालाई मुख्य आधार बनाउनुुपर्दछ ।

(लेखक शिक्षा सन्देश इंगलिस स्कुलका प्रिन्सिपल तथा लेटाङ बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् )