सुन्दरहरैचाबाट लागुऔषध ‘आइस ड्रग’ सहित पोखरेल पक्राउ

सुन्दरहरैचा । मोरङबाट विश्वकै महँगो लागुऔषध आइस ड्रग्ससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल छन् ।

उनको साथबाट बरामद भएको यो लागुऔषध विश्वमा अत्यधिक माग रहेको र महँगो मध्येमा पर्ने मेथान्टामाइन आइस नामक भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो एक प्रकारको केमिकल ड्रग्स हो । अत्यधिक महँगो लागुऔषधको कारोबारमा संलग्न उच्च घरनाका व्यवसायीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार बिक्री गर्ने तयारीमा रहेको पाँच सय ३० ग्राम ९३ मिलिग्राम (आधा किलोग्राम भन्दा बढी) लागुऔषध पोखरेलबाट बरामद गरेको जानकारी दिए ।

विशेष सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लागुऔषध कारोबारी पोखरेललाई पक्राउ गर्नका लागि लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली परिचालन गरेका थिए । कोही व्यक्तिलाई लागुऔषध पु¥याउन आउँदै गर्दा उनलाई प्रहरीले विराटनगरको बरगाछीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बेला पोखरेलको साथबाट दुई सय ग्राम २२ मिलिग्राम लागुऔषध बरामद भएको थियो । प्रहरीले सुन्दरहरैंचाको सलकपुरस्थित उनको घरमा छापा हानेर मङ्गलवार साँझ थप लागुऔषध बरामद गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।