सुन्दरहरैचामा उपमेयरकै मिलेमतोमा जेष्ठ नागरिक आश्रयको रकम निकासा

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपलिका वडा नं ३ मा निर्माण हुदै गरेको जेष्ठ नागरिकको आश्रयमा चरम आर्थिक अनियमितताको आरोप लागेसगै विवादमा आएको छ । चैत्र २० गते टेन्डर सम्झौता भएको उक्त भवन निर्माण सुनसरीको दुहबीमा रहेको सावाना निर्माण सेवाले जिम्मा लिएको थियो ।

तराई मधेश समृधी कार्यक्रम अन्तर्गत २५ लाख र बाकी नगरपालिकाको थप रकमबाट उक्त भवन बनाउने सम्झौता भएको थियो । तर निर्माण भएको उक्त भवनको बिचमा नै विवाद आएको छ । उक्त भवनमा कर्मचारीको र जनप्रतिनिधिको मिलेमतोमा नै अनियमितता भएको आरोप जनस्तरबाट आएपछी अहिले उक्त भवन निर्माणमा अनियमितता भएको चर्चा व्यापक बन्दै गरेको छ ।



सावना निर्माण कम्पनीले पाएको उक्त भवन निर्माण गर्न रु २७,८५,८३७ को सम्झौता भएको छ । तर निर्माण कम्पनीका अनुसार निर्माण कम्पनीले हाल २१/२२ लाख बराबरको रकम भुक्तानीको लागि नगरमा सिफारिस गरेको छ । उक्त भवन निर्माण नसकिदै सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले रकम निकासी गर्न लेखामा सिफारिस गरेको खबर सार्वजनिक भएपछी जनस्तरबाट नै उपप्रमुखको समेत मिलेमतो हुन सक्ने भन्दै आलोचना भईरहेको छ ।

यसो त उपप्रमुखले नै आफुले स्टेटमेन्ट राम्ररी अध्ययन नगरी लेखामा सिफारिस गरेको स्विकारि सकेकी छिन । निर्माण कार्यमा अनियमितता भएको खबर उपप्रमुखलाई थाहा हुदा हुँदै पनि उक्त कार्यको बिल भुक्तानीको अन्तिम तयारीमा लेखा शाखामा पुगेको छ । उक्त भवन निर्माणको रकम निकासीको लागि लेखा शाखामा सिफारिस पुगेर चेक बनेर निर्माण कम्पनीसग पुगे पनि भवन निर्माणमा विवाद आएपछी लेखा शाखाबाट चेक साट्न रोकेको छ ।

यता सम्झौता भएको फायल भने कर्मचारीको मिलेमतोमा लुकाइएको छ । अनुगमनमा सगै गएका सञ्चारकर्मीलाई वल्लो रुम र पल्लो रुममा सम्झौता फायल रहेको भन्दै नगरका केही कर्मचारीले सम्झौता भएको फायल नै नदिएर लुकाएका छन । सम्झौता फायल उपलब्ध गराइदिन आग्रह गराउदा कार्यालयमा रहेकी उपप्रमुख धनमाया तामङ केही नबोली मोबाइल झिकेर कार्यालयबाट बाहिर हिडेकी थिईन ।