केराबारी गापा अध्यक्ष कार्कीलाई खुकुरी हान्ने ठकुरीको घरमा लागुऔषध भेटियो : कारोबारी समेत हुनसक्ने आसंका

केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार गर्ने भवन ठकुरीको घरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । केराबारी गाउँपालिका १० स्थित ठकुरीको घरमा प्रहरीले खानतलाासी गर्ने क्रममा लागुऔषध ब्राउन सुगर फेला पारेको थियो ।
ठकुरी सुत्ने कोठा भित्रको ओछ्यान मुनी प्रहरीले तीन ग्राम ब्राउन सुगरसहित अन्य लागूऔषधहरू पनि बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ठकुरीले गत शुक्रबार दिउँसो गाउँपालिका कार्यालयमै अध्यक्ष कार्कीलाई चक्कु तथा खुकुरी प्रहार गरेका थिए । घटना लगत्तै पक्राउ परेका ठकुरीको घरमा प्रहरीले खानतलासी गरेको थियो ।
ठकुरी लागूऔषध प्रयोगकर्ता पनि रहेको बुझिएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अन्य विभिन्न प्रकारको लागूऔषध पनि बरामद भएकोले ठकुरी लागुऔषध कारोबारी समेत हुनसक्ने भएकाले त्यही अनुसार अनुसन्धान अगाडी बढाएको प्रहरीको भनाई छ ।

पक्राउ परेका ठकुरीलाई प्रहरीले मोरङ अदालतमा ‘ज्यान मार्ने उद्योग र लागूऔषध मुद्दामा’ म्याद थप गरि अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर ऋषिराज ढकालले जानकारी दिए । प्रहरीले आइतबार ठकुरीलाई अदालतमा ५ दिनको म्याद थप गरेको हो ।