कोरोना हावाबाट पनि फैलिन सक्छ : डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई ग्रहण गरेको छ ।

यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए ।

क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले स्वास फेर्दा ऊ संक्रमित हुनसक्ने प्रमाण प्रस्तुत गरेका थिए ।

यसबारे विश्व स्वास्थ्य संगठनकी बेनेदेत्ता आल्लेग्रांजीले कोरोनाभाइरस हावाबाट पनि फैलने प्रमाण त भेटिएको छ तर अहिले नै यो किटान गरेर भन्न सकिएको छैन ।

उनले भने, ‘सार्वजनिक स्थानमा, विशेषगरी भीडभाडयुक्त, कम हावा भएको र बन्द कोठामा हावामार्फत् भाइरस फैलने आशंकालाई अस्विकार गर्न सकिँदैन । यद्यपि, यी प्रमाण संकलन गर्न र बुझ्न आवश्यक छ । हामी यो काम जारी राख्नेछौं । ’

स्रोतः बीबीसी