नियम विपरित पथरीको मनकामना सहकारी इटहरीमा गाभिने तयारीमा

पथरी । सहकारीमा आफ्नो छुट्टै इतिहांश बोकेको पथरिको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरी जाने अन्तिम तयारीमा पुगेको छ ।

मोरङ पथरी शनिश्चरे १ मा ३ रहेको संस्थाले इटहरी ४ सुनसरीको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडसंग एकीकरण गर्ने अन्तिम तयारी गरेको सस्थाका अध्यक्ष युवराज भट्टराईले जानकारी दिए ।

एउटै उद्देश्य र कार्यक्षेत्रका सहकारीहरु एक आपसमा एकीकरण गर्न सरकारले नै निर्देशन गरेको छ तर मनकामनाले भने अर्को जिल्लाको सहकारीसंग एकीकरणका लागि लागिपरेको छ । मनकामनाको २०७६ असोज ३ गते भएको साधारण सभाको प्रस्ताव नं. ८ मा ‘‘संस्था एकीकरण सम्बन्धमा’’ भनेर निर्णय गरेको छ ।

निर्णयमा भनिएको छ ‘‘यस संस्थाको सेवा क्षेत्रभित्रका समान उद्देश्य लिई स्थापित तथा सहकारी संस्थाहरुसंग नियमअनुसार सहकारी एकीकरण प्रकृया अगाडी बढाई अघि बढ्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरियो ।’’

६ हजार बढि शेयर सदस्य भएको मनकामनाले शेयर सदस्यको अख्तियारी विपरित संस्था एकीकरणको प्रकृयामा गएको हो । मनकामना र महिला समान उद्देश्य भएका साकोस भएता पनि कार्यक्षेत्र भने फरक फरक रहेको छ ।

मनकामनाको दर्ता हुँदा बखत २०५४ सालमा परिच्छेद १ को प्रारम्भिक २ मा कार्यक्षेत्र तोकिएको छ । कार्यक्षेत्रमा भनिएको छ ‘‘संस्थाको कार्यक्षेत्र मोरङ जिल्ला न.पा.÷गा.वि.स.को क्षेत्रभित्र सीमित रहनेछ ।’’ यसर्थ पनि मनकामना सुनसरी केन्द्रिय कार्यालय रहेको महिला साकोससंग एकीकरण हुन सक्दैन् ।

यता मनकामनाले आफ्नो विनियमभन्दा पनि कम कार्यक्षेत्रमा मात्रै आफ्नो सेवा दिइरहेको अवस्था छ । विनियममा मोरङ जिल्ला कार्यक्षेत्र तोकिएको भएता पनि हाल मनकामनाले पथरी शनिश्चरे, उर्लाबारी, लेटाङ नगरपालिका र मिक्लाजुङ गाउँपालिका सम्म मात्रै आफ्नो सेवा दिइरहेको छ । यी पालिका बाहेकका अन्य छिमेकी पालिकाबाट कोही शेयर सदस्य बन्न चाहेमा अहिले पनि सदस्य बन्नबाट बञ्चित गरिएको छ ।

यसरी आफ्नो साघुँरो कार्यक्षेत्रबाट एकैपटक सुनसरी पुग्दा शेयर सदस्यहरु पनि आश्चर्यमा परेका छन् । साथै उनिहरुले पथरिमा रहेका अन्य सहकारीहरु सग एकीकरण प्रक्रिया अगाडि बडाउनु पर्ने पनि बताएका छ्न । स्थापना कालमा शेयर सदस्य रहेका बिजय प्रकाश श्रेष्ठ यो विषयमा आन्दोलन गर्न समेत तयार रहेको बताउछन् । ‘आफ्नो पसिना बगाएर दुःखले हुर्काएको संस्था सञ्चालक समितिका २,३ जनाले इटहरी नै लान किन महिरत्ते गरिरहेका छन् ? के हो यसपछाडीको उनिहरुको उद्देश्य ?’ श्रेष्ठको प्रश्न रहेको छ । ९८ प्रतिशत शेयर सदस्यहरु एकीकरणको विपक्षमा रहेको श्रेष्ठले बताए । एकीकरण नै गर्नुपरे पथरी शनिश्चरेको कुनैपनि सहकारीसंग गर्नुपर्ने तर पथरी देखि इटहरी जान जबरजस्ती गरे कानुनी उपचार समेत खोज्ने श्रेष्ठको भनाइ छ ।

यता सस्थाका अध्यक्ष भने सहकारी एकीकरण गरेरै छाड्ने दावी गर्दछ्न । यो विषय बजारमा आएपछि अधिकांश शेयर सदस्यहरु भने आफ्नो शेयर फिर्ता लिने तयारीमा छन् । शेयर फिर्ता लिदापनि नाफा चाँहि बराबर बाँडफाँड गर्नुपर्ने उनिहरुको माग छ ।

२०५४ सालमा स्थापना भएको मनकामनालाई मलजल गरेर हुर्काउनेहरु मनकामना इटहरी जान नहुने तर्क राख्दै आएका छन् । हाल ६ हजार शेयर सदस्य रहेको मनकामनाको जम्मा पुँजी तथा दायित्व २०७७ असार २० गते सम्म ३८ करोड १२ लाख ९४ हजार १ रुपैँया रहेको छ । आइतबार बस्ने भनिएको मनकामना र महिला साकोसको संयुक्त बैठक पनि ५ जना सदस्यहरुले बहिस्कार गरेका छन् । एकीकरणको विपक्षमा रहेको भन्दै ति सदस्यहरुले बैठक बहिस्कार गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।