पानीको निकास सम्बन्धी विवाद हुँदा सुन्दरहरैचाका केही घर डुबानमा

सुन्दरहरैंचा । केही दिनदेखि परेको वर्षाका कारण सुन्दरहैंचा–७ धार्मिक मार्गमा रहेको पविता रम्तेलको एकतले कच्ची घर पुरै डुवानमा परेको छ । छिमेकीले निकास बन्द गरि दिएकाले डुवानका कारण घरमा बस्ने अवस्था नभएपछि पविता रम्तेल बालबच्चासहित अहिले छिमेकीको शरणमा बस्नु परेको छ ।

यस्तै नजिकै रहेको प्रेम खड्काको घर अग्लो चर उठाएको तथा पक्की भएकाले उहाँको घरमा बाढी पसेको छैन । तर बढीका कारण उहाँको गाइ र बाख्राको गोठ तथा करेसाबारी डुवानमा छ ।
अर्का छिमेकी रमेश भट्टराईको समेत बाख्रा बाँध्ने गोठ र १० कठ्ठा जग्गाको लागि तयार पारिएको विउ डुवानमा छ ।

शनिबार दिउँसोदेखि डुवानमा रहेको यसक्षेत्रमा पानी केही घटेपनि निकाश नहुँदा समस्या भएको छ । स्थानीय देवीप्रसाद भट्टराई र दीपा भट्टराईले आफ्नो नीजि जग्गामा निकास निकाल्न नदिने भन्दै वर्षौंदेखिको पानीको निकास बन्द गरि दिएकाले डुवानको समस्या आएको स्थानीय कमल बञ्जराको भनाइ छ ।

यता आरोपित दीपा भट्टराईले भने पानीको निकास दिंदा आफ्नो घर नै बगाउने अवस्था आएको र भर्खरै रोपेको धानबाली डुवानमा पर्ने भएकाले निकास दिन नसकिएको बताउनु भएको छ । उहाँले आफुहरु सिमानबाट निकास दिन तयार रहेको भएपनि अर्को सँधियारले नमानेको उहाँको भनाइ छ ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ धार्मिक मार्ग क्षेत्रमा पानीको निकासको विषयमा देखिएको सामान्य विवादका कारण केही घरपरिवार डुवानमा परेका छन् भने एक परिवार विस्थापित नै हुनु पर्ने अवस्था आएको छ ।

यस्तो अवस्था आएको २ दिन भइसक्दा समेत जनप्रतिनिधहरु त्यस स्थानमा पुग्न सकेका छैनन् । रिवन काट्न र खादा पहिरिन झट्टै पुग्ने जनप्रतिनिधिहरुले यस्ता सामाजिक समस्या समाधानमा विशेष चासो देखाउन सके जनताको मन जित्न सजिलो हुने थियो की ?