लेटाङ नगरपालिकाको बजेट ५९ करोड ५० लाख

लेटाङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ५९ करोड ५० लाखकोे बार्षिक बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सातौ नगरसभामा सो अनुमानित बजेट प्रस्तुत गरिएको हो । बजेटमा चालु खर्च तर्फ ३० करोड २५ लाख ५० हजार र पूँजीगत खर्च २८ करोड ८९ लाख रुपैया विनियोजन गरिएको छ ।

लेटाङ नगरपालिकाले लेटाङ कानेपोखरी सडक, पिएचसी भवन , खेरुवा खोला र भुवा खोलामा पक्की पूल , लेटाङ ४ र ८ मा पर्ने आधुनिक कृषि बजार लगायतका ठुला योजनालाई प्राथमिकतामा राखेर निति तथा वजेट तय गरेको छ ।
वडागत रुपमा ७५ लाखको सिलिङ बजेट वाट वडागत योजनाहरुलाई समेत नगरपालिकाले समेटेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बजेटको अवस्था अनुसार लेटाङमा बजेट विनियोजन गरिएको नगरप्रमुख शंकर राईले प्रतिक्रिया दिनुभयो । केन्द्रीय र प्रदेश सरकार समक्ष योजनाहरुलाई विशेष जोडका साथ पेश गरिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले समेत नीति तथा कार्यक्रमका विषयमा उठेका प्राविधिक पक्षको हल गर्नुभएको थियो ।

नगरपालिकाले लेटाङ नगरपालिका भरीमा उत्कृष्ट अंक ल्याएर कक्षा ८ उर्तिण गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान समेत गरेको थियो ।