मंगलबारे अस्पतालको नामाकरणको विवाद चर्कंदै

उर्लाबारी । मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मंगलबारे अस्पतालको नामाकरणको विवाद चर्कंदै गएको छ । मगलबारे अस्पताल नामाकरण विवादलाई लिएर सोमबार देखि प्रदेश १ सरकारको त्रुटि सच्याउन माग गर्दै अनिश्चितकालिन धर्ना सुरु भएको छ ।

नेताको नाममा मंगलबारे अस्पतालको नामाकरण गर्न नहुने माग राख्दै असन्तुष्ट स्थानीयले सोमबारदेखि अनसन सुरु गरेपछि नामाकरणको विवाद पेचिलो बन्दै गएको छ । अस्पतालको नाम परिवर्तन नगर्न लामो समयदेखि स्थानीय आन्दोलित भए पनि सरकारले बेवास्ता गर्दै माग सम्बोन्धन गर्नेतर्फ चासो नदिएपछि अनिश्चितकालिन रिले अनसन सुरु गरेका हुन् ।

प्रदेश १ सरकारले आफ्नो आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा हाल सन्चालनमा रहेको मगलबारे अस्पतालको स्तरउन्नती गर्ने भन्दै अस्पतालको नाम नै परिवर्तन गर्नु पर्ने सर्त आगडी ल्याएको थियो । प्रदेश सरकारले मंगलबारे ट्रमा अस्पतालको नाम परिवर्तन गर्दै ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने भनेपछि स्थानीयहरूले अस्पतालको नाम परिवर्तन नगर्न माग राख्दै १५ दिनेदेखि निरन्तररूपमा विभिन्न किसिमका आन्दोलन गर्दै आएका छन् ।

मंगलबारे अस्पतालको नाम परिवर्तन नगर्न माग राख्दै थालेको स्थानीयको आन्दोलनलाई उर्लाबारीको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मञ्च सम्बद्ध संघीय लिम्बुवान पार्टी नेपाल र मंगलबारेका युवा समूह मिलेर संयुक्त संघर्ष समिति निर्माण गर्दै दोस्रो चरणको आन्दोलन थालेको हो ।