आरडिटी रिपोर्ट नेगेटिभ, क्वारेन्टाइनबाट घर गएका युवकको मृत्यु

दार्चुला । दार्चुलामा र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गएका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मार्मा गाउँपालिका–३ का २१ वर्षीय युवक छन् । गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका अनुसार बिहीबार साँझपख उनको घरमै मृत्यु भएको हो । मृतक युवकको बिहीबार साँझ नै स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको अध्यक्ष धामीले बताए ।गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रसिंह धामीका अनुसार उनी जेठ ३० गते क्वारेन्टिनबाट घर गएका हुन् । बेंग्लौरबाट जेठ २७ गते गौरीफन्टा नाका हुँदै आएका उनको धनगढी सेती प्रादेशिक अस्पतालमा गरिएको आरडीटी टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो ।

स्वास्थ्य संयोजक धामीले भने, ‘जेठ २७ गते उनीसहित दुई जना मार्मा आइपुगेका हुन् । एक रात क्वारेन्टिनमा बसेपछि जेठ ३० गते दुवै जनाको पुनः आरडीटी टेस्ट गरेका थियौं । त्यसको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।’

स्वास्थ्य संयोजक धामीका अनुसार क्वारेन्टिनमा बस्ने बेलामा उनमा ज्वरोको कुनै लक्षण थिएन । उनीसँगै बेंग्लौरबाट आएका साथीको भनाइ उदृत गर्दै धामीले भने, ‘चार/पाँच दिनदेखि उनले केही पनि खाएका रहेनछन् । त्यसैले उनमा शारीरिक कमजोरी थियो । त्यसैले घर जानुका साटो थप उपचार गराउन अस्पताल लैजान सल्लाह दिएका थियौं ।’