सुन्दरहरैंचा १२ मा कृषक अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ को आयोजनामा कृषकहरुका लागि ३ दिने कृषक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीको संयोजनमा भएको तालिमको समापन कार्यक्रम सुन्दरहरैंचा नगरपालिका उपप्रमुख धनमाया तामाङको प्रमुख आतिथ्यता तथा गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीका डाइरेक्टर वसन्त रेग्मीको सभाध्यक्षतामा सम्पन्न भएको होे ।

समापन कार्यक्रममा वडाध्यक्ष रोशन प्रसाद ढकाल, वडासचिव अनिल पोखरेल, वडा सदस्यहरुको उपस्थिति रहेको थियो । तालिमको समापन कार्यक्रममा सहभागी सबै कृषकहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै तालिम पुस्तिका हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख धनमाया तामाङले १२ नम्बर वडा कार्यालयले गुडलक एजुकेशनको संयोजनमा उपलब्धिमुलक तालिम प्रदान गरेको भन्दै व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिएकी थिईन ।

वडाध्यक्ष रोशन प्रसाद ढकालले पनि तालिममा सिकेका कुराहरुलाई व्यवहारमा ल्याए मात्र तालिमको सहि उपलब्धि हुने बताए । वडाका अगुवा कृषकहरुलाई प्रोत्साहन गर्न, कृषि पेशामा देखिएका समस्या समाधान तथा वैज्ञानिक खेति प्रणाली बारे जानकारी गराउने उद्देश्यले अभिमुखिकरण कार्यक्रम राखिएको ढकालले बताए ।

अभिमुखिकरण कार्यक्रममा कृषिमा आधुनिकरण, कौषी खेती, तरकारी खेति, नर्सरी, धान बाली र रोग किरा लगायतका विषयमा कृषकहरुलाई जानकारी गराइएको थियो । वडाका २० जना अगुवा कृषकहरुको सहभागिता रहेको अभिमुखिकरण कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका कृषि शाखा प्रमुख फरिन्द्र भट्टराई, प्राविधिक सहायक सुदिप भण्डारी, विवेक भट्टराई लगायतले सहजिकरण गरेको गुडलक एजुकेशनका प्रवन्ध निर्देशक रेवती निरौलाले जानकारी दिए ।