कोरोनाबाट थप १ को मृत्यु,मृतक संख्या १२

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।डोल्पा जगदुल्ला गाउँपालिका वडा न. ३ निवासी ५८ वर्षीय पुरुषको गत जेठ २० गते डोल्पा होम क्वारेन्टाइनमै मृत्यु भएको र उहाँको स्वाब परीक्षण गर्दा पोजिटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

प्रतिष्ठानले प्रकाशन गरेको विज्ञप्तिमा उहाँकाे अस्थायी बसोबास सुर्खेतमा रहेकाे बताएकाे छ । गएकाे जेठ १६ गते डोल्पा घरमा गई होम क्वारेन्टाइनमा बस्नुभएको थियो । उहाँको जेठ २० गते होम क्वारेन्टाइनमै मृत्यु भएको जानकारी गराइएको छ । उहाँको जेठ २२ गते स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको थियो । पीसीआर विधिबाट परीक्षण गर्दा नतिजा पोजिटिभ आएको निर्देशक मङ्गल रावलले जानकारी दिनुभयो ।
प्रतिष्ठानले विज्ञप्तिमार्फत घटनास्थल भौगोलिक दूरीका हिसाबले टाढा भएकाले त्यहाँका स्थानीयको समन्वयमा अन्य सम्पर्कको खोजी गरिने बताएको छ ।