कोरोना संक्रमणका कारण भारतमा ६ हजार ६४९ जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरस तिब्र रुपमा फैलिइरहेको छ । इटहलीलाई समेत उछिन्दै भारत विश्वमा कोरोना संक्रमित देशको लहरमा छैटौँ स्थानमा उक्लिएको छ ।

एसियामै सबभन्दा बढी संक्रमित रहेको भारतमा शुक्रबार मात्र ९ हजार ४७१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको वर्ल्डोमिटर्सको तथ्यांकले जनाएको छ । यसैगरी शुक्रबार २८६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो भारतमा अहिलेसम्मकै बढी दैनिक मृत्यु हो ।

अहिलेसम्म भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको वर्ल्डो मिटर्सले जनाएको छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ६४९ जनाको मृत्यु भइसकेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार देशभरि अहिले पनि १ लाख १६ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी १ लाख १३ हजारभन्दा बढी मानिस सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा धेरै सङ्क्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । महाराष्ट्रमा मात्रै ७७ हजार बढी सङ्क्रमित भएकोमा ३३ हजार ६८१ जना भने निको भइसकेका छन् ।