विदेशमा रहेकालाई सरकारले नेपाल ल्याउने:दैनिक ३५ सय ल्याउने तयारी

सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रवार बसेको बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ । बैठकमा कुन कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने विस्तृत कार्ययोजना प्रस्तुत भएको थियो ।

विभिन्न देशमा रहेका नागरिकहरु जो स्वदेश फर्किन चाहन्छन् उनीहरुको विवरण परराष्ट्र मन्त्रालयले बढीमा १० दिनभित्र संकलन गरेर सूची तयार पार्नेछ ।

सोही सूची अनुसार क्रमशः उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना छ । तेस्रो मुलुकबाट नागरिक ल्याउने काम एक सातापछि शुरु हुने एक मन्त्रीले बताए ।

शुक्रबार पेश भएको कार्ययोजनामा मन्त्रीहरुले सुझाव दिएपछि त्यसलाई थप परिमार्जन गरेर अन्तिम रुप दिन मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा दिइएको छ ।

सरकारले  दैनिक ३५ सयसम्म नेपालीलाई स्वदेश फर्काउन सकिने निष्कर्ष निकालेको छ।

शुक्रबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले साता/दश दिनपछि नेपालीहरूलाई  स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको हो।

समिति स्रोतका अनुसार  भारतबाहेकका मुलुकमा रहेका नेपालीहरूलाई ल्याउन नेपालमा भएका सबै कम्पनीका जहाजहरूले उडान गर्नेछन्। सरकारी र निजी कम्पनीका सबै जहाज उडाउँदै दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपालीलाई  स्वदेश ल्याउन सकिने समितिको हिसाब छ।

नेपाल आउन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ।

काठमाडौं विमानस्थलमा आइसकेपछि उनीहरूलाई होटलमा राखिनेछ। होटलहरूको मेनु र शुल्क सरकारले तय गर्नेछ। फर्केकाहरूले आफ्नो क्षमताअनुसार होटल छान्न पाउनेछन्।