रेमिट्यान्स : सबै देशबाट भित्रिन्छ ८७९ अर्ब, भारतले नेपालबाटै लैजान्छ ३६३ अर्ब

सरकारको अनुमान छ— कोरोनाको संक्रमणका कारण विदेशबाट करिब पाँच लाख श्रमिक तुरुन्तै नेपाल फर्किन्छन् । अन्तर्राष्ट्रिय उडान खुलेपछि भिसा अवधि सकिएका र अवैध रुपमा बसिरहेका करिब एक लाख २७ हजार र जागिर गुमाएर फर्किने करिब दुई लाख ८० हजार श्रमिक तुरुन्तै नेपाल आउने वैदेशिक रोजगार बोर्डको अनुमान छ ।

यसरी विदेशबाट नेपाली श्रमिक फर्किँदा यहाँ बेरोजगारी बढ्ने चिन्ता त छँदैछ । विदेशबाट आइरहेको रेमिट्यान्स पनि गुम्ने चिन्ता छ । नेपालमा गत आर्थिक वर्ष २०७५/७६मा आठ खर्ब ७९ अर्ब विप्रेषण (रेमिट्यान्स) भित्रिएको थियो । मुख्यगरी प्रमुख श्रम गन्तव्य मुलुक र युरोपेली देशबाट नेपालमा ठूलो मात्रामा रेमिट्यान्स भित्रिन्छ ।
तर, नेपाल रेमिट्यान्स भित्र्याउने मात्रै हैन, रेमिट्यान्स बाहिर पठाउने मुलुक पनि हो । विभिन्न अध्ययनले नेपाल भित्रिने रेमिट्यान्सको करिब एक तिहाइ पैसा रेमिट्यान्सकै रुपमा विदेशमा पुग्ने गरेको देखाएको छ ।

मुख्य रुपमा नेपालबाट भारतमा ठूलो परिमाणमा रेमिट्यान्स पुग्छ । त्यसबाहेकका अन्य मुलुकले पनि नेपालबाट रेमिट्यान्स लैजान्छन् ।

नेपालमा लकडाउनपछि धेरै भारतीय कामदार घर फर्किएका छन् । धेरैको रोजगारी गुमेकाले लकडाउनपछि फर्किन बाँकीमध्ये पनि धेरैले नेपाल छाड्ने अनुमान छ ।