युवासंघले बेलबारीलाई दियो कोरोना परिक्षण ‘नमुना संकलन बुथ’

बैशाख १
राष्ट्रिय युवा संघ नेपाल मोरङले बेलबारी नगरलाई कोरोना परिक्षणको नमुना संकलनका लागि सुरक्षा सामग्री ‘नमुना संकलन वुथ’ प्रदान गरेको छ ।
द्रुत निदान परिक्षण विधि (RDT) वा पोलीमरेज चेन रियाक्सन (PCR) विधि बाट गरिने कोरोना परिक्षणका लागि समेत नमुना संकलन गर्न खटिने स्वास्थ्यकर्मीलाई सुरक्षित रहन सो सामग्रीले मद्दत गर्ने बताइएको छ । नमुना संकलनमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणको जोखिम नहोस र सुरक्षित रुपमा काम सहयोग पुगोस भनेर आवश्यक सुरक्षा प्रबन्ध सहितको सो बुथ नेपाल इनजिनियर्स एसोसिएसन इटहरी च्याप्टरको प्राविधिक सहयोगमा निर्माण भएको युवासंघ मोरङका संयोजक नविन पौडेलले जानकारी दिनुभएको छ ।
स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा र उच्च मनोवलका साथ काममा खटिन सहयोग पुगोस भनेर सो सामग्री प्रदान गरिएको पौडेलले बताउनुभएको छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई सो सामग्री हस्तान्तरण गरिएको थियो । नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्कर्माका अनुसार बुथभित्र विशेष किसिमको बत्ती जडान गरिएको छ । २० मिनेटसम्म सो बत्ती बालेपछि सम्पुर्ण किटाणु नष्ट हुने प्रविधि रहेको साथै भित्रैबाट विशेष किसिमको पन्जा प्रयोग गरेर नमुना संकलन गरिने भएकाले संक्रमणबाट सुरक्षित भएर काम गर्न सकिने पनि विश्वकर्माले जानकारी दिनुभयो ।