बेलबारी नगरपालिकामा पनि कोरोना परिक्षण गरिने

बेलबारी नगरपालिकामा बैशाख १ गते सोमबारदेखि र्यापिड डाइग्नोष्टिक टेस्ट( RDT) किटबाट कोरोना भाइरस कोभिड–१९ परिक्षण गरिने भएको छ । भारत लगायत कोरोना प्रभावित मुलुकबाट फर्किएका व्यक्तिहरुको दु्रत निदान परिक्षण गरिने भएको हो । विदेशबाट फर्किएका व्यक्तिहरुमा कोरोनाको संक्रमण हुनसक्ने सम्भावनाका आधारमा वास्तविकता बुझ्ने सरकारी योजना अनुसार बेलबारीमा पनि कोरोना परिक्षण हुन लागेको हो । परिक्षणका लागि टेष्ट किटहरु आइसकेको र परिक्षणमा खटिने जनशक्ति पनि तयार भैसकेको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । बेलबारी नगरभित्र बसोबास गर्ने र पछिल्लो समय भारत तथा अन्य मुलुकबाट फर्किएका करिब १ सय जनाको कोरोना परिक्षण गरिने विश्वकर्माले बताउनुभएको छ । दु्रत निदान परिक्षण टेष्ट किटबाट कोरोना परिक्षण गर्दा १५ मिनेटमै रिपोर्ट थाहा हुन्छ । र्यापिड किटबाट गरिएको परिक्षणबाट आउने रिपोर्ट पश्चात थप परिक्षण गर्नुपर्ने अवस्था देखिएमा स्वाव संकलन गरी पोलीमरेज चेन रियाक्सन (पिसिआर) टेष्टका लागि पठाइने समेत नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यस अघि नगरका ६ जना व्यक्तिको पिसिआर टेष्ट गरिएको थियो भने कसैमा पनि कोरोना संक्रमण थिएन ।