गुणस्तरीय शिक्षा र नेपाल

सुनील निरौला
 

गुणस्तरको अवधारणा सन् १८०० पछि विकास भएको हो ।भने शिक्षा क्षेत्रमा यसको प्रयोग सन १९५० पछि भएको पाइन्छ ।
गुणस्तरीय शिक्षाको कुनै एकिन परिभाषा त छैन तथापि गुणस्तरीय शिक्षा त्यो हो ,जसले बालबालिकालाई उत्पादनमूखी नागरिक बनाउन आवस्यक पर्ने ज्ञान ,सीप, प्रवृत्ति ,मूल्य,मान्यता र कार्य गर्ने बानीको विकास गराउन सक्नुपर्छ । शैक्षिक गुणस्तर सापेक्ष कुरा मात्रै हो ।निरपेक्षमा व्याख्या गर्नु प्रायः गलत सावित हुनेछ । किनभने शैक्षिक गुणस्तरको समय,परिस्थिति,अवस्था र ठाउँ अनुसार  स्वरुप पनि फरकफरक हुने गर्दछ। जस्तो नेपाल र विश्वका अरुदेश बीचमा तुलना गर्दा यसको परिभाषा नै फरक आउछ।
               शैक्षिक गुणस्तर कुनै त्यस्तो छडी होइन कि तत्कालै वा आकस्मिक परिवर्तन देखियोस वा प्राप्ति होस। यो त निरन्तर योजना र अभ्यासको प्रकृयाबाट देखिने नतिजा हो । नेपालमा गुणस्तरीय शिक्षाको नाममा अभिभावकहरू महंगो शुल्क बुझाउने भार खेपिरहेका छन।भाविपुस्ताका नाममा उच्चतम खर्च गर्नुमा बुझाइ र भ्रम दुवैले  महत्त्वपूर्ण भुमिका निभाइरहेको ठम्याइ छ। वास्तवमा पाठ्यक्रमले तोकेका शिक्षाको लक्ष्य   को उच्चतम प्राप्ति शैक्षिक गुणस्तर हो ।यसका लागि नेतृत्व ,तालिम ,समय व्यवस्थापन ,साधन स्रोतको प्राप्ति र उच्चतम परिचालन जस्तो पक्ष महत्त्वपूर्ण हुन्छन् । यति भनिरहदा शैक्षिक गुणस्तर केवल सुन्दर भौतिक संरचना र आकर्षणमा मात्र हुदैन पनि भन्नू हो तथापि आवस्यकै छैनन् भन्ने चाहि होइन । शैक्षिक गुणस्तर चुनौतीपूर्ण ,जटिल तर समग्र पक्षको नतिजा हो ।
             गुणस्तरीय शिक्षाको सम्बन्धमा (शैक्षिक उन्नयन,२०५६) को परिभाषा ” जुन शिक्षाले हाम्रो संस्कृतिको रक्षा गर्छ,अाधारभुत आवस्यकता परिपुर्तिमा सहयोग गर्छ र त्यस तर्फ प्रोत्साहन गर्छ,त्यो गुणस्तरीय शिक्षा हो । आधारभुत मानवीय मूल्य स्थापित गर्नु पनि गुणस्तरीय शिक्षा हो ।त्यसैले यसलाई कुनै एक पक्षमा मात्रै नहेरी आफ्नो सन्दर्भ अनुसार हेरिनु पर्दछ।”
     यसबाट के स्पष्ट हुन्छ भने गुणस्तरीय शिक्षा हाम्रो व्यवहारको समग्र परिवर्तनको ठुलो हिस्सा हो , संस्कार र संस्कृतिले भरिएको जीवनमा आदर्शमय बनी जीवन उपयोगी,सीपमूलक, व्यवहारिक तथा मानवीय मूल्यका बारेमा उपयोग गर्न सक्ने बन्नु हो ।
            नेपालमा सन्दर्भमा प्रायः हामी अभिभावकहरुले शिक्षाको छनौट गर्दा बालबालिकालाई दिईने सुविधा र नतिजा हेर्ने गरेको पाइन्छ। यो आलेख कोरि रहदा एक उच्च स्तरको पेन्सनरको कुरा याद आयो बालबालिका लाई सामुदायिक विद्यालयमा ग्राउन्ड छाडेर गेटमा निस्किदै गर्दा प्रश्न थियो तपाईंको छोराछोरी पनि यहीँ ? अनुत्तरित बन्दै फर्कदा सम्झे कहाँ चुकौँ हामी ? कि म? कि प्रश्न कर्ता? गुणस्तर नतिजा र सुविधामा होइन व्यबहार परिवर्तन ,ज्ञान, सीप,र प्रवृत्तिमा आउने सकारात्मकतामा मात्रै हुन्छ ।
           SEE नतिजा ,अंग्रेजी माध्यमको पढाइ,सुन्दर देखिने भौतिक संरचनामा मात्रै होइन गुणस्तर त बालबालिकाको सकारात्मक व्यबहार परिवर्तन,शिक्षकको कार्यकुशलता,,दक्षता ,काम र सन्तुष्टि ,योग्यताप्रणाली , व्यबहार समायोजन ,ज्ञान, सीप जस्ता दरिलो खम्बामा निहित रहन्छन।
             हाम्रो बुझाइ गुणस्तर महंगीमा छ,खास ठाउँमा मात्रै छ,भाषामा छ,सबैले पाउदैन ,उच्चस्तरीय छ,,खर्चमा मात्रै छ भन्ने गलत भ्रम छ।यस्तो होइन गुणस्तर त हाम्रो प्रक्रियामा छ। सकारात्मक परिवर्तनको श्रृङखलामा छ।
       समग्रमा : शैक्षिक गुणस्तर कुनै एक पक्षबाट मात्रै हेरिनु हुदैन यसका केही अवयब छन जस्तो :
पहुँच
गुणस्तर
दक्षता
संस्कार र संस्कृति
उपभोक्त सन्तुष्टि
शिक्षण र कला
मूल्य मान्यता र वर्तमानको ज्ञान
समता
जवाफदेहीता
व्यवस्थापन
बिकेन्द्रिकरण र निक्षेप ।
आदि
शैक्षिक गुणस्तर बहुपक्षीय क्षेत्रमा अधारित प्रकृया हो यसलाई SEE नतिजा ,कक्षा -८ नतिजा सग हेरिनु वा मापन गर्नु हुदैन र उपयुुक्त पनि होइन ।यो त प्रस्तुति ,निपुणता,जीवन उपयोगीता र सक्षमतामा आधारित रहन्छ।यसका लागि लगानी, प्रकृया र उत्पादन बीचमा तादम्यकृत हुनेगरी कार्य प्रक्रिया सञ्चालन गर्नुपर्दछ।जसबाट त्रुटीरहित शिक्षा ,छनौट अवसर ,निरन्तर गन्तव्यमा पुग्ने योजना तथा यात्रा र सीपमूलक प्रक्रियाका रुपमा लिएर कार्य गर्नुपर्दछ।

(लेखक उदयपुर स्थित बेलका नगरपालिकाका शिक्षा अधिकृत हुन् )