गोप्य फोटो पोष्ट गर्ने धम्की दिँदै युवतीलाई आत्महत्या गर्न वाध्य बनाउने २ जना बेलबारी प्रहरीको नियन्त्रणमा


फागुन १३
गोप्य फोटो सामाजिक सञ्जालमा पोष्ट गरिदिने धम्की सहित बारम्बार मानसिक तनाव दिएर एक युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा सुन्दरहरैँचाकी १ युवतीसहित २ जना पक्राउ परेका छन् । सुन्दरहरैँचा ५ गौशालाकी १९ वर्षिया प्रिती तिम्सिना(अधिकारी)लाई ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य बनाएको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीले रिषीराम भट्टराई र सुन्दरहरैँचा ६ की १९ वर्षिया सन्जिता निरौलालाई पक्राउ गरेको हो । गत फागुन ८ गते आत्महत्या गरेकी प्रितीको ‘सुसाइड नोट’ र मोबाइल फोनका आधारमा अनुसन्धान पश्चात २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एस पी विश्वराज अधिकारीले जानकारी दिनुभएको छ । इलाका प्रहरी कार्यालय बेलबारीमा मंगलबार पत्रकार सम्मेलन गरेर दुवैजनालाई प्रहरीले सार्वजनिक समेत गरेको छ । उनीहरु विरुद्ध आत्महत्या दुरुत्साहन गरेको आरोपमा मुद्दा दायर गरी अनुसन्धान भैरहेको एस पी अधिकारीले जानकारी दिनुभएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर गुणराज बुढाथोकीका अनुसार रिषिरामले ड्याजलिङ क्विन नाम बाट फेसबुक आइडी प्रयोग गरेर प्रितीलाई बारम्बार फोटो पोष्ट गरिदिने भन्दै ब्ल्याकमेल गर्दै पैसा माग्ने गरेका थिए । २ हजार देखी १२ हजार रुपैयाँ सम्म रकम माग गर्ने र पटक पटक पैसा समेत लिएको खुलेको बुढाथोकीले जानकारी दिनुभएको छ । रिषिले पैसा लिन सन्जितालाई पठाउने गरेको पनि प्रहरीले जानकारी दिएको छ । घटना भएको दिन पनि रिषिले पैसा मागेको र दिने पैसा नभएपछि प्रितीले आत्महत्या गर्न वाध्य भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रितिले सुसाईड नोटमा पैसा दिन नसकेको र आफुले आत्महत्या गर्न बाध्य भएको तथा रिषि र सन्जितालाई कारवाही होस भनेर उल्लेख गरेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान जारी रहेको पनि इन्स्पेक्टर बुढाथोकीले जानकारी दिनुभएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय बेलबारीले लागु औषध ब्राउनसुगर सहित ४ जनालाई सुन्दरहरैँचाबाट पक्राउ गरेको छ । सुन्दरहरैँचा ५ का ३० वर्षिय नरबहादुर दर्जी र २५ वर्षिय आशिष ढकाल,केराबारी ६ डाँगीका २० वर्षिय आशिष मगर र सोही ठाउँका २३ वर्षिय रुपेश तामाङलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो । यसैगरी मोटरसाईकल चोरीमा संलग्न बेलबारी ३ का सुरज बिक र चोरीमा संलग्न भएकै आसंकामा सुन्दरहरैँचा ४ का अमिर मोदी र उत्तम चौधरी, सुनसरीका सत्यनारायण चौधरीलाई पक्राउ गरी अनुसन्धान भैरहेको पनि बेलबारी प्रहरीले जानकारी दिएको छ । हराएका ३ वटा मोटरसाईकल बरामद गरेको प्रहरीले को ३३ प ७५२५ नम्बरको मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको छ । लेटाङका प्रबर्धन राईलाई प्रहरीले मोटर साईकल बुझाएको हो । यस्तै बेलबारी प्रहरीले हराएका १७ वटा मोवाइल समेत फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।