नेपाल–भारत सीमामा मदिरा तस्करीमाथि कडाइः एक नेपालीसहित चार जना पक्राउ

रौतहट / नेपाल–भारत सीमाक्षेत्रमा मदिरा तस्करी रोक्न भारतीय सुरक्षाकर्मीले सक्रियता बढाउँदै दुई फरक कारबाहीमार्फत चार जनालाई नियन्त्रणमा लिएका छन्। बारा जिल्लासँग जोडिएको सीमावर्ती क्षेत्रमा आइतबार सञ्चालन गरिएको संयुक्त अपरेसनमा उनीहरू पक्राउ परेका हुन्।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ७१औँ बटालियन, मोतिहारीले बिहार प्रहरीसँग समन्वय गर्दै सूचनाको आधारमा दुई स्थानमा विशेष खोजी अभियान चलाएको थियो। एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार पहिलो कारबाही दिउँसो करिब १२ः४५ बजे ‘डी’ कम्पनी ९बीओपी मुर्तिया टोला० र आदापुर प्रहरीको संयुक्त टोलीले इस्लामपुर नजिक गरेको थियो। सो क्रममा सीमा स्तम्भ नम्बर ३८२ र २१ बाट करिब ५०० मिटर भारततर्फको क्षेत्रमा ४१ बोतल ‘कस्तुरी’ मदिरा र ५ लिटर कच्ची मदिरा बरामद गरिएको छ। घटनामा भारतीय नागरिक २४ वर्षीय साफीक आलम, ३० वर्षीय सरोज माझी र ६० वर्षीय पाचु माझी पक्राउ परेका छन्।

त्यसैगरी दोस्रो कारबाही साँझ ४:१० बजे ‘ए’ कम्पनी, अठमोहान र झरौखर प्रहरी चौकीको संयुक्त टोलीले सञ्चालन गरेको थियो। उक्त अपरेसनमा विभिन्न परिमाणका ‘ब्ल्याक ओक’, ‘एम्बिसन’ र ‘कस्तुरी’ ब्रान्डका मदिरा बरामद गरिएको प्रवक्ता बिनित कुमार सिंहले जानकारी दिएका छन्।

यस घटनामा बाराको स्वर्ण गाउँपालिका–जमुनिया टोल निवासी ३३ वर्षीय सन्जय (सनोज) प्रसाद यादवलाई बीआर २२एस ७२२९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको छ। बरामद सामग्री अथमोहन गाउँ नजिक, सीमा स्तम्भ नम्बर ३५८ र ०५ बाट करिब ४०० मिटर भारततर्फ फेला परेको जनाइएको छ।

प्रारम्भिक अनुसन्धानले दुवै घटनामा नेपालबाट भारततर्फ मदिरा तस्करी भइरहेको पुष्टि गरेको छ। पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीलाई थप अनुसन्धानका लागि आदापुर तथा झरौखर प्रहरी कार्यालयमा बुझाइएको छ।




Leave a Reply

Your email address will not be published.