लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न

विराटचोकः लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न भएको छ । यसै क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिकामा विविध कार्यक्रमका साथ कार्यक्रम समापन भएको हो ।

‘समानताको पुस्ता, बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ भएको कार्यक्रममा ओरेक नेपाल, माइती नेपाल, नारी विकास सङ्घ, महिला अधिकार मञ्च, नगर फेडरेसन, परोपकार महिला समूह, एकता महिला, नगर बाल सञ्जाल, अपाङ्गता महिला सङ्घ, आमकास नेपाललगायतका सङ्घसंस्थाले सहकार्य गरेका थिए । नगरपालिकाको संयोजनमा भएको कार्यक्रमको शुरुमा प्रभातफेरीको आयोजना गरिएको थियो ।

सुन्दरहरैंचा नगरपालिका अगाडि बालबालिका, कर्मचारी, जनप्रतिनिधिलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि भेला भई निस्किएको र्याली विराटचोक, बुधबारे हुँदै पुनः नगरपालिका अगाडि आएर समापन सभामा परिणत भएको थियो । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापन कार्यक्रममा बोल्दै सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले सबैखाले हिंसाको अन्त्यका लागि नगरपालिकाले सहयोग गर्ने बताउँदै यस्ता खाले कार्यक्रमले हिंसाका घटनामा न्यूनीकरण आउने बताए ।

यस्तै, नगर उपप्रमुख धनमाया तामाङले महिलाहरू विभिन्न आन्दोलनमा अगाडि बढिरहेको अवस्थामा महिलामाथि नै हिंसा भएको र यस्ता घटना नहुन् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताइन् । १६ दिने अभियानले हिंसा गर्न नहुने भन्ने सबैमा सन्देश जागरुक गरिएकोसमेत बताइन् । सो कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले परिवार, समाज, टोल र नगरभित्र हुने हिंसा अन्त्य गर्दै देशबाटै हिंसा अन्त्य गर्दै जानुपर्ने धारणा राखे ।

यसैगरी, हिंसाका घटना दिनप्रतिदिन बढिरहेको र शान्तिको सन्देश बुद्धको जन्मभूमि नेपालमा हिंसा हुनुले अत्यन्तै लज्जित अवस्था भएको समेत बताए ।

सो कार्यक्रममा समाजमा हुने अपराध, सामाजिक सञ्जालको दुरुपयोग र विद्यालयमा अध्ययनरत बालबालिकाविरुद्ध हुने अपराधका विषयमा सचेतनामूलक सडक नाटकसमेत प्रदर्शन गरिएको थियो । सो कार्यक्रमको सञ्चालन परोपकार महिला समूहकी सचिव निरु बजगाईंले गरेकी थिइन् ।