यसरी हुँदैछ १३ औं सागको समापन

काठमाडौः काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) आज समापन हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै व्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको बताएका छन् ।

हिजो साँझ मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले प्रतियोगिता शुरुदेखि अहिलेसम्म व्यवस्थित रूपमा सञ्चालन भइरहेको र समापनलाई झनै व्यवस्थित र भव्य बनाउन लागिएको बताए ।

सिलवालका अनुसार आज मंगलबार १२ बजे सांसद ११ र राष्ट्रसेवक कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ । त्यसपछि फुटबल प्रतियोगिताको फाइनल हुनेछ र त्यसलगत्तै समापन समारोह शुरु हुनेछ ।

डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रविधिमार्फत् सम्बोधन गर्नेछन् भने बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै खेलाडीका लागि प्रोत्साहन प्याकेज घोषणा गर्नेछन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि रहने समापन पोखरेलका साथै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिव सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ ।

समापन समारोहकै अवसरमा १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ । त्यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई प्रबद्र्धन गर्ने गरी विशेष कार्यक्रम प्रस्तुत गरिने भएको छ । समापन स्थलका प्यारापिटलाई विभिन्न श्रेणीमा वर्गीकरण गरी व्यवस्थित गरिने र त्यहाँ भीभीआईपी, भीआईपी, पत्रकार, पदक विजेता खेलाडी, विदेशी, कर्मचारीलगायतलाई अलगअलग बस्ने व्यवस्था गरिने जनाइएको छ ।