पथरी / नेपाली कांग्रेस मोरङ क्षेत्र नं.–३ ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि डा. सुनिल शर्मालाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।
आज बसेको क्षेत्रीय समितिको बैठकले कुनै पनि अन्य दावेदार नभएपछि शर्मा नै क्षेत्रको प्रभावकारी र लोकप्रिय उम्मेदवार हुने निष्कर्षसहित नाम अगाडि सारेको हो। यससँगै उनी आगामी निर्वाचनका लागि निर्विरोध सिफारिस भएका मुलुककै पहिलो उम्मेद्वार भएका छन् ।

स्थानीय जनताबीच उनको लोकप्रियता बढ्नमा राजनीतिक सक्रियता मात्र नभई स्वास्थ्य, शिक्षा र विकास–निर्माण क्षेत्रमा उनले गरेको निरन्तर योगदान प्रमुख कारण मानिन्छ। डा. शर्माले विगतदेखि नै विभिन्न टोल–टोलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएर स्वास्थ्य परीक्षण, औषधि वितरण र परामर्श सेवा उपलब्ध गराइरहेकाले धेरै परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

यसअघि भएको चुनावमा २२,७६० मतको फराकिलो अन्तरले विजयी भएका डा. शर्मा यसपटक झन् दोब्बर मतान्तरले जित्ने स्थानीय मतदाताको विश्वास छ। कांग्रेसभित्र एकता कायम गर्न, संगठनलाई सुदृढ बनाउन र क्षेत्रमै स्थायी जनसम्पर्क कायम राख्न उनी सक्षम भएको दाबी कार्यकर्ताहरूले गरेका छन्। सिफारिसपछि प्रतिक्रिया दिँदै शर्माले भने, “क्षेत्रमा कांग्रेस एकताबद्ध हुनु नै मेरो सबैभन्दा ठूलो बल हो। विकास, स्वास्थ्य र शिक्षा—यी क्षेत्रका अधुरो काम पूरा गर्नु मेरो प्राथमिकता हो।”

क्षेत्रीय समितिबाट सर्वसम्मत सिफारिस भइसकेपछि अब उनी नाम केन्द्रीय समितिमा पठाइनेछ। औपचारिक अनुमोदनपछि डा. शर्मा मोरङ–३ बाट नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार हुनेछन्। स्वास्थ्यदेखि शिक्षा र पूर्वाधार विकाससम्मको जनसेवामा निरन्तर सक्रियता प्रदर्शन गर्दै आएका उनी यस क्षेत्रका सबैभन्दा सबल र प्रभावशाली उम्मेदवारका रूपमा स्थापित भइरहेका छन्।