पथरी / मोरङको पथरीशनिश्चरे क्षेत्रका केही होटल–लजहरूमा खुलेआम यौनधन्दा हुने गरेको स्थानीयवासीको गुनासो बढेपछि इलाका प्रहरी कार्यालय पथरीले नियमित सर्च अपरेसन तीव्र पारेको छ। पछिल्लो केही सातादेखि स्थानीयहरुबाट आएको सूचनाका आधारमा रात्री समयमा विशेष निगरानी बढाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार विशेष सेटिङमार्फत कार्यरत कर्ल गर्ल्स मार्फत होटल तथा लजहरूमा अवैध यौन क्रियाकलाप हुँदै आएको आशंका गरिएको छ। अनुगमनका क्रममा केही होटलमा शंकास्पद गतिविधि देखिएकाले प्रहरीले कागजी र कानुनी आधारहरू जाँच गर्दै आवश्यक कारबाही अघि बढाउने तयारी गरेको छ। “यौनधन्दा नियन्त्रणका लागि होटल व्यवसायी, स्थानीय र प्रशासनबीच समन्वय आवश्यक छ,” प्रहरीले जनाएको छ।
यता, स्थानीयवासीले राति अबेरसम्म अनधिकृत रुपमा कोठा बुकिङ, अपरिचित व्यक्तिको आवत–जावत र दुर्गन्धपूर्ण गतिविधिका कारण त्रास बढेको गुनासो गरेका छन्। प्रहरीले अवैध क्रियाकलाप भएका स्थानहरू पहिचान गर्न गोप्य निगरानीसहित विशेष अपरेसन निरन्तर जारी राखेको बताएको छ।